काठमाडौं : बैंक तथा वित्तीय संस्थाप्रति नेपाल राष्ट्र बैंक थप लचक बनेको छ । सोमबार एउटा सूचना जारी राष्ट्र बैंकले ब्याज आम्दानीबारे बैंक तथा वित्तीय संस्थाप्रति थप लचिलो नीति ल्याएको हो ।
राष्ट्र बैंकले इजाजतपत्र प्राप्त संस्थाको लेखानीतिबमोजिम आवा २०८०/८१ मा प्रोदभावी (एकुरल बेसिस)मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकमबाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीबराबरको रकममा प्रचलित नियमानुसारको आयकर र कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको यो व्यवस्थाले बैंकहरुले साउनसम्म प्राप्त ब्याजलाई गत आर्थिक वर्षको नाफामा गणना गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो सुविधा दिएको हो । सोही व्यवस्था लागु गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरेको हो ।
यसैगरी राष्ट्र बैंकले हालसम्म एनएफआरएस लागू भइसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा आव २०८०/८१ मा पाकेको ब्याज २०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्तले आव २०८०/८१ को नाफा–नोक्सान आम्दानी जनाउन पाउने सुविधा दिएको छ।
जस अनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण अब भदौमा मात्रै सार्वजनिक गर्ने छन् ।
Advertisment