Below Menu
Below Menu

वैदेशिक रोजगार बचतपत्रः उच्च ब्याजदरमा पनि न्युन आकर्षण, १३ वर्षमा ४.९ प्रतिशत मात्रै बिक्री

वैदेशिक रोजगार बचतपत्रः उच्च ब्याजदरमा पनि न्युन आकर्षण, १३ वर्षमा ४.९ प्रतिशत मात्रै बिक्री

काठमाडौं : वैदेशिक रोजगार बचतपत्रमा नेपाली नागरिकको आकर्षण न्युन रहेको पाइएको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वैदेशिक रोजगार बचतपत्रको स्थिति र प्रवद्र्धनका उपाय’ विषयक प्रतिवेदनमा यस्तो देखिएको हो । 

वैदेशिक रोजगारीमा आकर्षण बढेपनि सरकारले आव्हान गर्दै आएको वैदेशिक रोजगार बचतपत्रमा नेपाली नागरिकको आकर्षण अपेक्षाकृत नरहेको प्रतिवेदले देखाएको छ । 

विदेश जाने नेपालीको संख्या बढिरहको सन्दर्भमा एकातर्फ विप्रेषण आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र अर्कोतर्फ सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको शुरुवात भएको थियो । 

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रुपमा उच्च हुने गरेको छ । यस्तो बचतपत्र आवश्यकता अनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्था रहेको छ । 

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड वैदेशिक रोजगार बचतपत्र आव्हान भएकोमा जम्मा ७६ करोड २३ लाख (४.९ प्रतिशत ) मात्र बिक्री भएको प्रतिवेदनमा उल्लेख छ । 

विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको छ । वैदेशिक रोजगार बचतपत्र अपेक्षित रुपमा परिचालन हुन नसकेको प्रतिवेदनले देखाएको छ । 

यसका साथै पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको र जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद नगरेको प्रतिवेदनले देखाएको छ । 

वैदेशिक रोजगार बचतपत्रको आव्हान तथा बिक्री स्थिति

आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको निष्काशन र व्यवस्थापन कार्य शुरु गरिए पश्चात्आर्थिक वर्ष २०७५/७६ बाहेकका सबै वर्षहरुमा यस्तो बचतपत्र बिक्रीका लागि आव्हान भएको देखिन्छ । 

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्मका १३ वर्षहरुमा बैंकले २५ पटक गरी जम्मा रू. १५ अर्ब ५६ करोड आव्हान गरेकोमा रू.७६ करोड २३ लाख (अर्थात् ४.९ प्रतिशत) बिक्री भएको छ ।

बचतपत्रको परिचालन शुरुका वर्षहरुदेखि नै अपेक्षित रुपमा हुन सकेको प्रतिवेदले देखाएको छ । पहिलो वर्ष १ अर्बको बचतपत्र आव्हान भएकोमा ४० लाख बिक्री भएको थियो भने दोस्रो वर्ष ५ अर्ब निष्काशन आव्हान भएकोमा रु.३३ लाख मात्र बिक्री भएको थियो ।

त्यसपछिका अधिकांश वर्षहरुमा बचतपत्रको आव्हान रु.५० करोड भन्दा कम भएको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आव्हान रकमको ४.९ प्रतिशतमात्र बिक्री हुन सकेको छ । यस अवधिमा निष्काशन भएका सबै वैदेशिक रोजगार बचपत्रहरु ५ वर्ष अवधिको रहेका छन्। 

उच्च ब्याजदर, न्युन आकर्षण 

नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्रलाई आकर्षक बनाई बढी भन्दा बढी ऋण परिचालन गर्ने उद्देश्यले यस्तो बचतपत्रको ब्याजदर निर्धारण गर्दा सोही वर्षको बैंक तथा वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदरको तुलनामा उच्च रहने गरेको छ । 

यस अवधिमा वैदेशिक रोजगार बचतपत्रको ब्याजदर सोही वर्षको मुद्दति निक्षेपको तुलनामा ०.०१ प्रतिशतदेखि २.४२ प्रतिशतसम्म उच्च रहेको देखिन्छ । तथापि, ब्याजदरको प्रभाव बचतपत्र खरिदमा अपेक्षित रुपमा परेको देखिदैन ।

आन्तरिक ऋण परिचालनमा योगदान 

नेपाल सरकारले बजेट घाटा परिपूर्तिको लागि आन्तरिक ऋण परिचालनमा हाल टे«जरी बिल्स, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र प्रचलनमा ल्याएको छ ।

यी उपकरणहरु मध्ये टे«जरी बिल्स र विकास ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण उठाउने प्रयोजनको लागि र नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र नेपाली नागरिकबाट ऋण उठाउने प्रयोजनको लागि निष्काशन हुने गरेको छ ।

पछिल्लो पाँच वर्षको नेपाल सरकारको आन्तरिक ऋणको आकार विश्लेषण गर्दा बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा सरकारले ४३ खर्ब ३३ अर्ब आन्तरिक ऋण परिचालन गरेकोमा आव २०७९/८० मा आइपुग्दा रु.२५६ अर्ब पुगेको छ ।

सरकारको आन्तरिक ऋणको आकार बढ्दै गएको तुलनामा वैदेशिक रोजगार बचतपत्रको आकार बढ्न नसकेकोले यसको योगदान आव २०७१/७२ मा ०.१९ प्रतिशत रहेकोमा क्रमशः घट्दै आव २०७९/८० मा ०.०१ प्रतिशतमा झरेको छ ।

विप्रेषण आय र वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति

नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढ्दो क्रममा रहेको छ । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार वैदेशिक रोजगार बचतपत्र निष्काशनको शुरुको वर्षमा रु.२.३१ खर्ब विप्रेषण आय प्राप्त भएकोमा यस अवधिमा करिब ६ गुणाले बढी आर्थिक बर्ष २०७९/८० मा रु १२.२० खर्ब प्राप्त भएको छ ।

त्यसैगरी वैदेशिक रोजगारीमा जानेको संख्या ३.२ गुणाले बढी आव २०७९/८० मा ५६.८३ लाख पुगेको सन्दर्भमा वैदेशिक रोजगार बचतपत्रको बिक्री सो अनुरुप हुन सकेको देखिदैन ।

वैदेशिक रोजगार बचतपत्र प्रवद्र्घनमा भएका प्रयास

वैदेशिक रोजगार बचतपत्रको परिचालन अपेक्षित रुपमा हुन नसकेको सन्दर्भमा यसको आकर्षण बढाउन पछिल्ला वर्षहरुमा नेपाल सरकारले यस्तो बचतपत्रको ब्याजदर नागरिक बचतपत्रको ब्याजदरभन्दा एक प्रतिशत बढी निर्धारण गर्न थालेको छ ।
बचतपत्र खरिदलाई सहज बनाउन प्रक्रियागत सरलीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/८० देखि नागरिकले वैदेशिक रोजगार बचतपत्रको आवेदन अनलाइन माध्यममार्फत् गर्नसक्ने व्यवस्था गरिएको छ (मौद्रिक नीति, २०७९/८०) । 

वैदेशिक रोजगार बचतपत्रको परिचालन बढाउन नेपाल राष्ट्र बैंकले विगतदेखि नै नागरिक सचेतना अभिवृद्धिमा जोड दिदै आएको छ । सो अनुरुप आर्थिक वर्ष २०७४ देखि वैदेशिक रोजगार बचतपत्रको बारेमा जनचेतना जगाई बचतपत्रको बिक्री प्रवद्र्धन गर्न बढी संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा रहेका प्रमुख मुलुकहरूमा नेपाल सरकारका सम्बन्धित निकाय, बिक्री एजेण्टका विदेशस्थित कार्यालयहरू तथा रेमिट्यान्स कम्पनीहरू लगायतको समन्वयमा चेतनामूलक प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने गरिएको छ (मौद्रिक नीति, २०७४) ।

सो अनुसार बैंकले नियमित रुपमा बजार निर्माता र बिक्री एजेण्टहरुलाई तालिम, अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरेको छ । वैदेशिक रोजगार बचतपत्रको विशेषता तथा फाइदाका बारेमा वैदेशिक रोजगारीका लागि नेपाली कार्यरत रहेका तथा गैर आवासीय नेपाली रहेका मुलुकका नेपाली कुटनीतिक नियोगहरू मार्फत् समेत अन्तरक्रिया र प्रचार– प्रसार हुने गरेको छ । 

पछिल्लो समय वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारलाई विद्युतीय माध्यममार्फत्तीव्रता दिइएको छ । बैंकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गर्ने निर्णय गरे पश्चात्राष्ट्रिय दैनिक पत्रिकाको अतिरिक्त बैंक तथा बिक्री एजेण्ट, गैर आवासीय नेपाली नागरिक, संघ संगठन, विदेश स्थित कुटनीतिक नियोगहरुको वेबसाइटमा सूचना प्रकाशन हुने गरेको छ ।

यस्तो बचतपत्रको परिचय र खरिद–बिक्री प्रक्रिया लगायतको विवरण समावेश पुस्तिका यस बैंकबाट प्रकाशन तथा वितरण गर्नुका साथै वेबपेजमा समेत राखिएको छ ।

वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनका नीतिगत तथा प्रक्रियागत सुधार 

नीतिगत सुधार

वैदेशिक रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुको साथै परिपक्व भएको साँवा र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउने । 

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले विदेशस्थित विदेशी मुद्राको बैंक खाताबाट समेत खरिद गर्न पाउने व्यवस्था मिलाउने । यद्यपी, कतिपय मुलुकहरुको कानूनले यस्तो बन्देज लगाएको सन्दर्भमा श्रम संझौतामा समावेश गरी लगानी गर्न सक्ने व्यवस्था मिलाउन पहल गर्ने । 

नेपाल सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचपतत्र छुट्टा छुट्टै निकाल्नु भन्दा एकै प्रकारको बचतपत्रको व्यवस्था गर्ने तर गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीलाई बचतपत्र खरिदमा विनिमयदर मार्फत्सहुलियत दिने । (घ) सरकारले बजेट घाटा परिपूर्तिको लागि बचतपत्र निष्काशन गर्ने प्रचलन रहेकोमा आगामी वर्षहरुमा मुलुकको सर्वाधिक महत्वका पूर्वाधार आयोजना लक्षित वित्तीय साधन जुटाउन बचतपत्र निष्काशन गर्ने ।

प्रक्रियागत सुधार

बचतपत्रको आर्जित ब्याज र परिपक्व भएको साँवा बचतपत्र धनीको बैंक खातामा सोझै उपलब्ध हुने व्यवस्था मिलाउने । 
बचतपत्रको प्रमाणपत्र तत्काल उपलब्ध हुने वा अनलाइन मार्फत प्राप्त हुने व्यवस्था मिलाउने । 

हाल बचतपत्र वर्षको एकपटक छोटो अवधिका लागि मात्र आव्हान हुने गरेकोमा आर्थिक वर्षको शुरुमा निष्काशन गर्ने र आव्हान रकम बिक्री नभएसम्म खुला रहने व्यवस्था मिलाउने ।

प्रचार–प्रसारमा जोड 

सामाजिक सञ्जालको उपयोग गरी वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसार व्यापक बनाउने । नेपालबाट वैदेशिक रोजगारीका आकर्षक गन्तव्य रहेका मुलुकस्थित नेपालका कुटनीतिक नियोग मार्फत् वैदेशिक रोजगार बचतपत्रको प्रचार–प्रसारमा तीव्रता दिने । 

रोजगारीमा जाने व्यक्तिलाई श्रम विभाग, वैदेशिक रोजगार कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित श्रम डेस्क मार्फत् वैदेशिक रोजगार बचतपत्रको फाइदाका सम्बन्धमा ब्रोसर वा पुस्तिकाका माध्यमबाट जानकारी गराई प्रचारप्रसार गर्ने ।

रोजगारीमा जाने व्यक्तिको लागि आयोजना गरिने अभिमुखीकरण तालिममा वैदेशिक रोजगार बचतपत्रको जानकारी अनिवार्य बनाउने ।


 

Advertisment

थप समाचार