काठमाडौं : पछिल्ला केही महिनायता नेपाल आउने विदेशी पर्यटकको संख्या निरन्तर घट्दै गएको छ । पर्यटन बोर्डका अनुसार गत मार्च र अप्रिलमा पर्यटक आगमन मासिक एक लाख नाघेको थियो । तर, मे महिनादेखि भने पर्यटक आगमन घट्दै गएको हो ।
बोर्डका अनुसार सन् २०२४ को सात महिनामा साढे ६ लाख बढी पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा विभिन्न देशका ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका हुन् ।
एक महिना अर्थात जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल भित्रिएका छन् । उक्त संख्या सन् २०२३ को सोहि अवधिको तुलनामा ११.९१ प्रतिशत बढी हो । गत वर्षको जुलाईमा महिनामा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार सन् २०२२ को जुलाईमा महिनामा ४४ हजार ७६२ जना, सन् २०२१ मा तीन हजार ६३ जना, सन् २०२० मा १९६ जना र सन् २०१९ मा ७० हजार ९१६ जना पर्यटक भित्रिएका थिए ।
सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२४ को जुलाईमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २१ हजार ४९१ जना नेपाल आएका हुन् ।
त्यस्तै सोही अवधिमा चीनबाट ६ हजार ८१९ जना, अमेरिकी पर्यटक ७ हजार ८६४ जना, बंगलादेशबाट ३ हजार ४७० जना र युकेबाट तीन हजार ६०६ जना पर्यटक नेपाल आएका छन् ।
त्यसैगरी जुलाईमा भुटानबाट एक हजार २०७, अष्ट्रेलियाबाट एक हजार ९०१, जापानबाट एक हजार ११४ जना, साउथ कोरियाबाट एक हजार ५३७ जना र मलेसियाबाट एक हजार १२५ जना विदेशी पर्यटक नेपाल आएको पर्यटन बोडले जनाएको छ ।