काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा पछिल्ला दिनमा भइरहेको बहस तर्कसङ्गत नभएको बताए ।
महशुल उठाउन पाइँदैन भनेर नेपाल विद्युत् प्राधिकरणलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो ? भन्ने प्रश्न गर्दै सांसद बस्नेतले पटक पटक अदालतले आदेश दिएको र विभिन्न निकायले निर्णय गरेका आधारमा थप छुट महशुल उठाउन खोजिएको बताए ।
उनले लोडसेडिङको समयमा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगले थप महशुल तिर्नुपर्छ भन्ने सामान्य विषयलाई नजरअन्दाज नगर्न र छुट नदिन आग्रह गरे । सांसद बस्नेतले सरकारमा बसेर प्रश्न मात्रै गर्ने तर कुनै निष्कर्ष नदिने छुट कसैलाई नभएको स्पष्ट पारे ।
प्राधिकरणको सञ्चालक समितिको बैठकमा फरक मत राखेका आधारमा सञ्चालक समितिका सदस्यहरुलाई कारवाही गरिएकामा सांसद बस्नेतले गुनासो गरे । “सरकारले कुन आदेश गर्याे र कुन आदेश सञ्चालक समिति सदस्यले उल्लङ्घन गरे ?फरक मत राखेको आधारमा कारवाही गर्दैजाने हो भने लोकतन्त्रको योभन्दा मजाक अरु हुनै सक्दैन”, उनले भने । संविधान संशोधनको विषय गलत मनसायका साथ आएको सांसद बस्नेतको आरोप थियो ।
अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका छन्ः सांसद गैरे
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका बताएका छन् । उनले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सुधार गरेर जाने भनेर प्रमुख दुई दलबीच भएको सहमतिलाई पूर्णता दिन सकिए थप आशाको सञ्चार हुने बताए ।
संविधान संशोधन कुनै पनि अर्थमा प्रतिगमन हुन नसक्ने तर्क गर्दै सांसद गैरेले यथास्थितिमा रहनुपर्छ, कुनै सुधार गर्नुहुन्न भन्ने मतलाई भने गलत मान्नुपर्ने उल्लेख गरे । उनले देशव्यापी रुपमा मनसुनका कारण सडक सञ्जालमा क्षति पुगेकाले त्यसको मर्मत सम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सार्वजनिक सवारी साधनको सहज प्रबन्ध गर्न सकिए नजिकिँदो चाडपर्वमा नागरिकले सहजरुपमा यात्रा गर्न सक्ने वातावरण बन्ने उनको भनाइ थियो ।
दुग्ध किसानले मूल्य नपाएको, रासायनिक मल नपाएको अवस्था अन्त्य गरेर कृषि क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्नेमा सांसद गैरेले जोड दिए । खाद्यान्न आयात गुर्नपर्ने अवस्था अन्त्य गर्न सबैको सार्थक पहल हुनुपर्ने र कृषि क्षेत्रको औद्योगिकरण गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद गैरेले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै असुरक्षित रहेका देशमा पुनः कामदार पठाउन लागिएको भनेर सार्वजनिक भएका विषयको सत्य तथ्य के हो भन्दै प्रश्न गरे ।
मुलुकभित्र समस्याका रुपमा रहेको आर्थिक अनियमितता, भ्रष्टाचारको नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए । प्रमुख प्रतिपक्षी दलले कोही कसैमाथि छानबनि नै गर्न पाइँदैन भनेर गरेको तर्क यर्थाथसँग मिल्दो नभएको सांसद गैरेको धारणा थियो ।
Advertisment