काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँ नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका १४ कम्पनीहरुले सात अर्ब ४३ करोड १३ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा ५२.०८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका थिए ।
आर्थिक शिथिलताका बाबजुद पनि अधिकांंश बीमा कम्पनीहरुले नाफा बढाएका छन् । यस अवधिमा १२ वटा कम्पनीले नाफा बढाएका छन् भने दुई कम्पनीको नाफा भने घटेको छ ।
कम्पनीहरुले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सको नाफा घटेको हो । अघिल्लो आवको तुलनामा कम्पनीहरुको नाफा क्रमशः १८.०८ प्रतिशत र २.७३ प्रतिशतले घटेको छ ।
असार मसान्तसम्म आइपु्ग्दा सर्वाधिक नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको नाफा ८७.७८ प्रतिशतले बढेर ७० करोड ६ लाख रुपैयाँ पुगेको हो ।
त्यसैगरी यस अवधिमा शिखर इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२६.८७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २२ करोड ६१ लाख नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १५६.६७ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु इन्स्स्योरेन्सको नाफा ११८.१३ प्रतिशत, सगरमाथा लुम्बिनीको ८३.९४ प्रतिशत र सिद्धार्थ प्रिमियरको नाफा ८२.५१ प्रतिशतले बढेको छ ।

सवा एक अर्बले बढाए व्यापार
आर्थिक शिथिलताका बाबजुद पनि बीमा कम्पनीहरुको व्यवसायमा सुधार भएको देखिएको छ । एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार सवा एक अर्बले बढेको देखिएको छ ।
आर्थिक मन्दीका कारण बजारमा आर्थिक गतिविधि सुस्ताएको बेला पनि बीमा कम्पनीहरुले भने व्यापार विस्तारमा तीव्रता दिएका छन् । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीहरुले ४१ अर्ब रुपैयाँ भन्दाबढीको बीमा व्यवसाय गरेका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले २९ लाख ७७ हजार ११६ बीमालेख बिक्री गरी ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ३.११ प्रतिशत अर्थात एक अर्ब २५ करोड ४० लाख रुपैयाँले बढेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ बीमालेख जारी गरी ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
Advertisment