काठमाडौं : पछिल्लो समय पर्यटन आवागमनमा वृद्धि भएसँगै होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि भएको छ ।
गत आर्थिक वर्षकाे चौथो त्रैमासम्मको वित्तीय विवरण हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा होटलहरूको खुद नाफा औसत ३०.६८ प्रतिशतले बढेको छ । हाल बजारमा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् ।
असार मसान्तसम्म उक्त कम्पनीको कुल खुद नाफा एक अर्ब २८ करोड ६७ लाख रुपैयाँ छ । जबकी अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ९८ करोड ४६ लाख रुपैयाँ थियो । सूचीकृतमध्ये सिटि होटल नोक्सानीमा रहेको छ भने अन्य सबै कम्पनीहरु नाफामा रहेका छन् ।
सन् २०२४ को जनवरी देखिनै पर्यटन आवागन उच्च छ । कोरोना महामारीले थलिएको यो क्षेत्रमा अहिले निकै सुधार भएको देखिन्छ । अर्थतन्त्रको बलियो खम्बा मानिएको यो पर्यटन क्षेत्रले लयमा फर्किएको छ ।
नेपालमा विदेशी पर्यटकको संख्या बढ्दा यसको प्रत्यक्ष प्रभाव होटल व्यवसायमा देखिएको छ । विदेशी पर्यटकहरुको बढ्दो आगमनले होटलहरुको नाफामा सुधार देखिएको हो ।
सञ्चालित कम्पनीहरुमा चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालन बापत सेवा शुल्क हो भने सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापारमा होटल व्यवसाय रहेको छ ।
बाह्य पर्यटक संख्या बढ्दा आम्दानीमा सकारात्मक टेवा पुग्न गई नाफामा सुधार भएको होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सोल्टी होटल
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सोल्टी होटलले ६० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ८.३० प्रतिशतले बढी हो । अघिल्लो वर्ष होटलले ५५ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
असार मसान्तसम्म होटलको कुल आम्दानी १०.७७ प्रतिशतले बढेको छ भने कुल खर्च १२.२४ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी ६.४७ रुपैयाँमा झरेको छ ।
ओरियन्टल होटल
दि ओरियन्टल होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैंमाससम्म १२ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २३.९२ प्रतिशतले कम हो । अघिल्लो वर्ष होटलले १६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको वित्तीय खर्च बढेका कारण नाफा घटेको हो ।
असार मसान्तसम्म होटलको कुल आम्दानी ०.४३ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा २१.६७ प्रतिशतले घटेको छ । कुल खर्च ८.१४ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी १० रुपैयाँ ८४ पैसा रहेको छ ।
तारागाउँ रिजेन्सी होटल
तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस अवधिमा ५१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लोे आवको सोही अवधिको तुलनामा १८.२८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष होटलले ४० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
असार मसान्तसम्म होटलको सञ्चालन आम्दानी ११.५९ प्रतिशतले बढेको छ । सञ्चालन खर्च ५.५८ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा रहेको छ ।

सिटी होटल्स
सिटी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैंमाससम्म २० करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २७ करोड २२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
अघिल्लो आवको सोही अवधिको तुलनामा भने होटलको नोक्सानी घटेको हो । यस अवधिमा होटलको सञ्चालन आम्दानी बढेसँगै नोक्सानी घटेको हो ।
असार मसान्तसम्म होटलको सञ्चालन आम्दानी ६.५७ प्रतिशतले बढेको छ । कुल खर्च २.८१ प्रतिशतले बढेको छ भने वित्तीय खर्च ७.३९ प्रतिशतले घटेको छ । होटलको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २३ पैसा ऋणात्मक छ ।
कालिन्चोक दर्शन
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनको खुद नाफा ७.७५ प्रतिशतले बढेर २ करोड ६६ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बाह्य तथा आन्तरिक पर्यटन व्यवसायमा सुधार आउँदा कम्पनीको नाफा बढ्न पुगेको कम्पनीले जनाएको छ ।
असार मसान्तसम्म होटलको सञ्चालन आम्दानी २२.३२ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा १०.३८ प्रतिशतले बढेको छ भने वित्तीय खर्च २१.७३ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४७ पैसा रहेको छ ।
चन्द्रागिरी हिल्स
चन्द्रागिरी हिल्स लिमिटेडले एक वर्षको अवधिमा २२ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.३९ प्रतिशतले बढि हो । अघिल्लो आवमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्म कम्पनीको ९.४९ प्रतिशतले बढेको छ । कुल आम्दानी ८.८० प्रतिशतले बढेको छ भने कुल खर्च २९.३७ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा रहेको छ ।
Advertisment