काठमाडौं : नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनी घाटामा गएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ४ करोड ६८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड २ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४.११ प्रतिशत घटेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी २ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६१.८४ प्रतिशत घटेको छ भने वित्तीय खर्च १४९.२८ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७० लाख ६८ हजार रुपैयाँ ऋणात्मक छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ १ पैसा ऋणात्मक र प्रतिशेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा छ।
२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९५ लाख १३ हजार रुपैयाँ छ।
Advertisment