काठमाडौं : चालु आर्थिक वर्षको साउन महिनामा घरजग्गा कारोबार दोहोरो अंकले बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार यस अवधिमा देशभरका मालपोत कार्यालयहरुबाट ४३ हजार ८३५ वटा घरजग्गा खरिद बिक्री भएका छन् ।
उक्त संख्या गत वर्षको तुलनामा ११.६४ प्रतिशतले बढी हो । गत वर्षको साउनमा देशभरका मालपोत कार्यालयबाट ३९ हजार २६३ वटा घरजगा खरिद बिक्री भएको थियो ।
विभागका अनुसार यस अवधिमा ४ हजार १६२ वटा घरजग्गाको नामसारी भएको भने ११ हजार १५६ वटा घरजग्गा संशोधन भएको छ । त्यस्तै साउनमा २९ हजार ६५९ घरजग्गा रोक्का भएका छन् भने २९ हजार ७५ वटा भने फुकुवा भएका छन् ।
घरजग्गाको कारोबार बढेसँगै यसबाट सरकारले पाउने राजस्व रकम पनि बढेको छ । साउनमा घरजग्ग्गा कारोबारबाट कुल राजस्व ३ अर्ब ८३ करोड ५० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३१.७७ प्रतिशत अर्थात ९३ करोड ४६ लाखले बढी हो । गत आवको साउनमा सरकारले घरजग्गा कारोबारबाट २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागकाअनुसार कुल राजस्वमध्ये सेवा कर २६ करोड ६८ लाख ७८ हजार रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।
सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्टेशन दस्तुर, पुँजीगत लाभकर लगायत शीर्षकमा राजस्व प्राप्त गर्ने गर्छ ।
विभागका अनुसार हाल देशभरका १३४ वटा बढी मालपोत कार्यालयहरु मार्फत घरजग्गा किनबेच हुँदै आएको छ । साउनमा सबैभन्दा धेरै भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी मार्फत घरजग्गा किनबेच भएको छ ।
उक्त कार्यालय मार्फत साउनमा १ हजार ९०४ वटा घरजग्गा खरिदबिक्री भएका छ्न् । यस्तै, राजविराज सप्तरीमा १ हजार ६०८ वटा, बेलावारी मोरङमा १ हजार ५२० वटा, भद्रपुर झापामा पनि १ हजार ४६५ वटा घरजग्गा किनबेच भएका छन् ।
त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम धनुषामा पनि १ हजार २१५, मलंगवा सर्लाहीमा १ हजार २९, धनगढी कैलालीमा ९७०, सिराहामा ९६२, कलैया बारामा ९५५, जलेश्वर महोत्तरीमा ९४७, पर्सामा ९३४, तौलिहवामा ९२६ घरजग्गा किनबेच भएका छन् ।
त्यस्तै लहान मालपोत कार्यालयबाट ९२१, विराटनगरमा ९०९, लगनखेल ललितपुरमा ९०८, नेपालगञ्ज बाँकेमा ८४८, भक्तपुरमा ८३०, घोराही दाङमा ८१०, बुटवलमा ८०५, काभ्रेपलाञ्चोकमा ८०४ वटा घरजग्गा किनबेच भएका छन् ।
विभागकाअनुसार चितवनमा ७८७ वटा, कोहलपुरमा ७८५, तुलसीपुर दाङमा ७४५, दकम झापामा ७३७, रुपन्देहीमा ७०२, पोखरा कास्कीमा ६७८, काठमाडौं कलंकी ६५४, मकवानपुरमा ६३७, सुर्खेतमा ६३६ र रौतहत गौरमा ६०० वटा घरजग्गा किनबेच भएका छन् ।
Sponsored Advertisment
Advertisment