काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत मंगलबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब रुपैयाँ निक्षेप घटेको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले एक अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत मंगलबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एक अर्ब रुपैयाँले घटेर ६४ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो दिन अर्थात् भदौ १९ गते सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ६४ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा ५७ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब निक्षेप घटेर ७ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप घटेपनि कर्जा लगानी भने सुस्त रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५१ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४५ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदरसँगै सिडि रेसियो पनि बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडि रेसियो ७८.८० बिन्दुमा पुगेको छ ।
Advertisment