Below Menu

आर्थिक विकासको प्रमुख क्षेत्र ऊर्जामै छैन बैंकहरुको पर्याप्त लगानी

आर्थिक विकासको प्रमुख क्षेत्र ऊर्जामै छैन बैंकहरुको पर्याप्त लगानी

काठमाडौं : सरकारले ऊर्जालाई आर्थिक विकासको प्रमुख क्षेत्रका रूपमा विकास गर्दै लगेको छ । केन्द्रीय बैंकले ऋण लगानीका लागि कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनका क्षेत्र विशेष प्राथमिकतामा राखेको छ । 

प्राथमिकता प्राप्त क्षेत्रमा लगानीका यी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कुल कर्जाको कम्तीमा ४० प्रतिशत अनिवार्य कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । 

राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुले ऊर्जा क्षेत्रमा मात्रै कुल कर्जा प्रवाहको १० प्रतिशत रकम लगानी गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार बैंकहरुले जलविद्युत्, सोलार पावर प्लान्ट जस्ता क्षेत्रमा ऋण लगानी गर्दै आएका छन् । 

तर, ऊर्जा क्षेत्र विकास लागि पर्याप्त लगानी नपुगेको व्यवसायीहरूले बताउँदै आएका छन् । राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा कर्जा प्रवाहका लागि तोकेको अनुपात बढाउनुपर्ने माग राख्दै आएका छन् । 

ऊर्जा क्षेत्रमा कर्जा प्रवाहका लागि तोकेको अनुपात १० बाट बढाएर २० देखि २५ प्रतिशत पुर्‍याउनुपर्ने व्यवसायीहरूको माग छ  । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) अध्यक्ष गणेश कार्की अब बैंक वित्तीय संस्थाले कम्तीमा पनि २० प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने बताउँछन् । 

ऊर्जा क्षेत्रमा विदेशी फण्डहरु ल्याउन सहज वातावरण बनाइदिन समेत राष्ट्र बैंकसँग माग गर्दै उनले भने, ‘राष्ट्र बैंकले ग्रीन बण्ड र क्लाइमेट बण्ड जस्ता फण्डहरु ल्याउन सहजीकरण गर्नुपर्छ ।’ 

लगानी बढ्यो, तर छैन पर्याप्त 

एकातिर ऊर्जा व्यवसायीहरूले ऊर्जा क्षेत्रमा बैंकहरुको लगानी पर्याप्त नभएको गुनासो गरिरहँदा अर्कोतिर बैंकहरुको यस क्षेत्रमा लगानी विस्तारै बढ्दै गएको छ । पछिल्लो समय ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ऊर्जा क्षेत्रमा बैंकहरुको लगानी १८.२३ प्रतिशतले बढेको देखिन्छ ।  

यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा ३ खर्ब ७६ अर्ब एक करोड रुपैयाँ लगानी गरेका छन् । जबकी अघिल्लो वर्ष यस्तो लगानी ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा वाणिज्य बैंकहरुले तीन खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । त्यस्तै विकास बैंकले नौ अर्ब ८३ करोड ४८ लाख रुपैयाँ र अन्य वित्त कम्पनीले ९३ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । 

कुन बैंकले कति गरे लगानी ?

राष्ट्र बैंकका अनुसार यस अवधिमा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी कुमारी बैंकको रहेको छ । बैंकले गत असार मसान्तसम्म ३५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेको छ । 

त्यसैगरी यस अवधिमा नबिल बैंकको लगानी ऊर्जा क्षेत्रमा ३१ अर्ब एक करोड १३ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३० अर्ब ५७ करोड ७२ लाख लगानी गरेको छ । 

राष्ट्र बैंकका अनुसार ग्लोबल आईएमईले २५ अर्ब ५६ करोड, एनएमबीले २५ अर्ब २५ करोड, लक्ष्मी सनराइजले २३ अर्ब २६ करोड, प्राइम कमर्सियल बैंकले २१ अर्ब ७२ करोड, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ५६ करोड रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । 

सरकारले दश वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । १३ हजार ५ सय मेगावाट देशभित्रै खपत गर्ने र १५ हजार मेगावाट विदेश निर्यात गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि ६१ खर्ब रुपैयाँ लगानी आवश्यक रहनेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले भारतमा दैनिक आठ सय मेगावाट विद्युत् निर्यात भइरहेको छ । बंगलादेशमा पनि सन २०३५ भित्र ५हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिइएको छ । सुरुवाती चरणमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने तयारी भइरहेको छ । 

यसका साथै सरकारले चीनसँग पनि विद्युत् व्यापार गर्ने गरि अन्तरदेशीय प्रसारण लाइन निर्माणको तयारी अघि बढाइएको छ । सरकारको लक्ष्य  अनुरूप निजी क्षेत्रले जलविद्युत् उत्पादनमा अग्रसर भएर लागि परेको छ । 

तर, निजी क्षेत्रले जलविद्युत् उत्पादनमा भने आवश्यकताअनुसार लगानी भने जुटाउन सकेका छैनन् । लगानी जुटाउन नसक्दा थुप्रै आयोजनाहरू अलपत्र परेका छन् । 

सोही आवश्यकतालाई मध्यनजर गर्दै व्यवसायीहरूले ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी बढाउनु पर्ने बताएका छन् । साथै कतिपय संस्थामा बेकामे बनेर रोकिएका रकम परिचालनको वातावरण पनि बन्नुपर्ने व्यवसायीको माग छ ।

गत असार मसान्तसम्म बैंकको कर्जा लगानीको स्थिति हेर्दा कुल ५१ खर्ब १२ अर्ब ५८ करोड रुपैयाँ प्रवाह भएको छ । जसमा वाणिज्य बैंकमार्फत अधिकतम ४५ खर्ब २१ अर्ब ६८ करोड रुपैयाँ लगानी भएको छ । 

त्यस्तै विकास बैंकमार्फत ४ खर्ब ९२ अर्ब ९२ करोड रुपैयाँ लगानी भएको छ भने बाँकी अन्य फाइनान्स कम्पनीहरूले ९७ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । 

बैंकहरुको ध्यान होलसेल तथा रिटेल व्यावसायिक क्षेत्रमा  

बैंक तथा वित्तीय संस्थाहरूको लगानी ऊर्जा क्षेत्रमा भन्दा पनि अधिकांश होलसेल तथा रिटेल व्यावसायिक क्षेत्रमा गएको छ । असार मसान्तसम्म सो क्षेत्रमा बैंकहरुले ९ खर्ब ९९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

अन्य क्षेत्रको तुलनामा प्राथमिकताको क्षेत्र कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा भने अपेक्षित रूपमा बैंकहरुको लगानी बढ्न नसकेको देखिएको छ । खासगरी लगानी उठ्ने ग्यारेन्टी नहुँदा जोखिमलाई मध्यनजर गर्दै बैंकहरूले यस्तो क्षेत्रको लगानी कम गरेको देखिएको हो । 

आर्थिक शिथिलताका कारण पछिल्लो समय कर्जाको माग घटेको छ भने यसअघिनै गरेको लगानी समेत उठ्न नसकेपछि बैंकहरु थप समस्यामा परेका  छन् । 

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा बढ्दा त्यसको प्रभाव बैंकहरुको वित्तीय रिपोर्ट ९ब्यालेन्स सिट० मा परेको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा १७.७० प्रतिशतले बढेको छ ।

कृषि तथा वन पैदावार क्षेत्रमा ३ खर्ब ६३ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्दा माछापालन क्षेत्रमा १६ अर्ब २१ करोड लगानी भएको छ । यसका साथै निर्माण क्षेत्रमा २ खर्ब ७ अर्ब ७१ करोड रुपैयाँ, जलविद्युत, ग्यास र पानीमा ३ खर्ब ७६ अर्ब एक करोड रुपैयाँ र धातुजन्य उत्पादन तथा मेसिनरीको क्षेत्रमा ७० अर्ब २८ करोड रुपैयाँ लगानी गएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले यातायात, सञ्चार तथा सार्वजनिक सरोकारका क्षेत्रमा ८८ अर्ब ५५ करोड रुपैयाँ, फाइनान्स, बीमा तथा घरजग्गाको क्षेत्रमा ३ खर्ब ९६ अर्ब ३५ करोड रुपैयाँ, पर्यटन सेवाको क्षेत्रमा २ खर्ब ३१ अर्ब ५५ करोड रुपैयाँ, सवारी कर्जामा एक खर्ब २४ अर्ब १० करोड र शेयर धितोकर्जामा ९० अर्ब ९ करोड रुपैयाँ लगानी गरेका छन् । 
 

Sponsored Advertisment