Below Menu
Below Menu

सम्पत्ति र मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, कृषिमा घट्दो आकर्षण 

सम्पत्ति र मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, कृषिमा घट्दो आकर्षण 

काठमाडौं : निर्जीवन बीमा कम्पनीको ठूलो हिस्सा सम्पीत्त बीमा र मोटर बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भनेपनि चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले सम्पत्ति बीमा व्यवसायबाट एक अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

चालु आवको साउन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले दुई लाख २१ हजार ७१ बीमालेख बिक्री गरी ४ अर्ब २६ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । जस मध्ये सम्पत्ति बीमाको हिस्सा ३३.५१ प्रतिशत र मोटर बीमाको हिस्सा २८.७२ प्रतिशत रहेको छ ।

हाल निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा, सामुन्द्रिक, हवाई, मोटर बीमा, इन्जिनियरिङ, कृषि तथा बाली बीमा र लघु बीमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।

सम्पत्ति बीमा र मोटर बीमाको तुलनामा अन्य यी व्यवसायको हिस्सा न्यून रहेको तथ्याङ्कले देखाएको छ । यस अवधिमा कम्पनीहरुले मोटर बीमाबाट एक अर्ब २२ करोड ३७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

बीमा कम्पनीहरुले सम्पत्ति र मोटर बीमाबाट अबौंको व्यापार गर्दा अन्य क्षेत्रको व्यापार भने करोडमा सिमित रहेको छ । साउन मसान्तसम्म विविध बीमाबाट ५५ करोड ६४ लाख, सामुन्द्रिक बीमाबाट २९ करोड ४४ लाख, हवाई बीमाबाट ५ करोड १८ लाख, इन्जिनियरिङ बीमाबाट ५० करोड २८ लाख र लघुबीमाबाट कम्पनीहरुले ५ करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । 

सरकारले अनुदान दिएको कृषि तथा बाली बीमाको व्यवसाय भने खस्किदै गएको तथ्यांकले देखाएको छ । सरकारले कृषि तथा बाली बीमामा ८० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । 

तर, पछिल्लो समय अनुदानको व्यवस्था समेत गरेको कृषि तथा बाली बीमामा कृषकहरूको आकर्षण भने बढ्न सकेको छैन । प्राधिकरणका अनुसार एक महिनामा कृषि तथा बाली बीमाबाट कम्पनीहरूले २० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन कुल हिस्साको ४.६० प्रतिशत मात्रै हो । 

सरकारले किसानलाई आकर्षित गर्न कृषि बीमा अनुदानको व्यवस्था गरेपनि कृषि तथा बाली बीमा फस्टाउन नसकेको तथ्यांकमा प्रस्ट देखिएको छ । दाबी भुक्तानीमा प्रक्रिया झन्झटिलो हुँदा किसानहरू निरुत्साहित हुँदै गएको पाइएको छ । 

प्रदेशगत मोटर बीमाको अवस्था 

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले बागमती प्रदेशमा सबैभन्दा बढी व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले सो प्रदेशमा ५७ हजार ६१७ बीमालेख जारी गरी ७९ करोड २३ लाख बीमाशुल्क उठाएका हुन्  । 

त्यस्तै गरी कोशी प्रदेशमा ११ हजार ६०८ बीमालेख जारी गरी ८ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क उठाएका छन् भने मधेस प्रदेशमा ९ हजार ५८६ बीमा लेख जारी गरी ७ करोड ४३ लाख बीमाशुल्क संकलन् गरेका छन् । गण्डकी प्रदेशमा ११ हजार ७१ बीमालेख जारी गरी ९ करोड ५५ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।  

बीमा प्राधिकरणका अनुसार साउन महिनामा कम्पनीहरुले लुम्बिनी प्रदेशमा  १६ हजार २२५ बीमालेख जारी गरी १२ करोड ८३ लाख  बीमाशुल्क उठाएका हुन् ।  कर्णाली प्रदेशमा १ हजार ७६१ बीमालेख जारी गरेर १ करोड ३३ लाख बीमाशुल्क संकलन भएको छ भने  सुदुरपश्चिममा ४ हजार ३५८ बीमालेख जारी गरेर ३ करोड १८ लाख बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

अन्य कुन प्रदेशमा कम्पनीकाे व्यवसायको अवस्था कस्तो ?


 

Advertisment

थप समाचार