Below Menu
Below Menu

सरकारले गरिब र विपन्नका लागि जलविद्युत्को शेयर सुनिश्चित गर्छः उर्जामन्त्री खड्का

सरकारले गरिब र विपन्नका लागि जलविद्युत्को शेयर सुनिश्चित गर्छः उर्जामन्त्री खड्का

खाँदबारी : उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले गरिब र विपन्न परिवारका लागि सरकारले जलविद्युत् आयोजनाको शेयर सुनिश्चित गर्ने बताएका छन् । 

सोमबार यहाँ आयोजित ‘सङ्खुवासभाको वस्तुस्थितीको छलफल’मा उनले गरिब र विपन्न वर्गका नागरिकको जीवनस्तर उकास्नका लागि जलविद्युत् आयोजनाको शेयर गरिब वर्गका नागरिकलाई सुनिश्चित गर्न सरकारले काम गर्ने बताएका छन् ।

“साधन र स्रोतको प्रचुर सम्भावनाको क्षेत्रमा बसेका नागरिकलाई शेयर प्राप्त गर्ने ग्यारेन्टी सरकारले गर्छ, जलविद्युत् आयोजनालाई आफ्नो भविश्य सम्झेर सहयोग गर्न म सङ्खुवासभाबासीलाई आग्रह गर्दछु”, उनले भने । उनले आर्थिक, सामाजिक र राजनीतिक हिसावले तल्लो वर्गका नागरिकमा पहुँच पुर्याउन सकिएन भने मुलुक समृद्धि हुन नसक्ने धारणा व्यक्त गरे ।

सङ्खुवासभाबाट निर्वाचित सांसद खड्काले मतदाताको शिर नझुक्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले जिल्लाको विकासमा राजनीतिक दलबीच भाइचाराको सम्बन्ध रहेको बताए । उनले जनतासँगको सल्लाह र सबै दलको सहभागीतामा मुलुकको हितमा हुनेगरी संविधान संशोधन गरिने बताए । संविधान संशोधनका विषयलाई लिएर जनतालाई दिग्भ्रमित गर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।

मन्त्री खड्काले विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको वातावरण बनाउने गरी  सरकारले काम गर्ने स्पष्ट पारे । उनले जिल्लाको समस्याको बारेमा आफूलाई मसिनो गरेर थाहा भएकाले यहाँभित्रका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले मुलुकको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको कृषि, पर्यटन र जलविद्युत्को प्रचुर सम्भावना सङ्खुवासभामा रहेको बताए । उनले विपन्न र निमुखा नागरिकलाई जलविद्युत् आयोजनामा जोडेर उनीहरुको आर्थिक जीवनस्तर बढाउनका लागि वर्तमान मन्त्री र मन्त्रालयले चासो देखाएको उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले प्राकृतिक स्रोत र साधनले उच्च सम्भावना भएको सङ्खुवासभाको विकासलाई अगाडि बढाउन स्रोत र साधनको उच्चतम प्रयोग गर्नुपर्ने बताए । उनले कोशी करिडोरलाई किमाथाङ्का नाकासम्म जोड्न सके सङ्खुवासभाको विकासले कोल्टे फेर्ने स्पष्ट पारे ।

उनले माथिल्लो अरुण आयोजनालाई वैदेशिक लगानीका साथै नेपाली लगानी जुटाएर भएपनि पूरा गर्ने बताए । ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जलविद्युत् आयोजनाले सङ्खुवासभाको अर्थतन्त्रमा सहयोग पुग्ने बताए । वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले सङ्खुवासभाको विद्युत् नेपालमा आन्तरिक खपत बढाएर बाँकी विद्युत छिमेकी मुलुकमा निर्यात गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।

जल तथा मौसम विभागका महानिर्देशक जगदिश्वर कर्माचार्यले विभागले जलवायु परिवर्तनका कारण हुनसक्ने क्षतिको पूर्वानुमान गर्दै आएको बताए । हाल सङ्खुवासभामा छ वटा जलमापन र पाँच वटा मौसम मापन केन्द्र रहेको उनले बताए । उनले तुम्लिङटार विमानस्थलमा मौसम सेवा जानकारी लागि मेसिन जडान गरिने, पर्यटकलाई पूर्वसूचना दिनका लागि उपकरण जडान गर्ने, पालिकाको सहकार्यमा मौसम मापन केन्द्र जडान गरिने उल्लेख गरे ।

विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले संखुवासभामा निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्नसके यहाँको विकासमा ठूलो फड्को मार्ने बताए । उनले सङ्खुवासभामा चार हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता रहेकाले यो आयोजनालाई चाँडो सम्पन्न गर्न गर्न सबै लाग्नुपर्ने बताए ।

जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सञ्जीव बरालले विभागले पहाडी भूभागमा सतह सिँचाइ र लिफ्ट सिँचाइको काम गर्दै आएको बताए । उनले सङ्खुवासभाको १५ हजार हेक्टरमा सिँचाइ पुगेपनि बाँकी भू–भागमा सिँचाइ नभएकाले यसलाई अगाडि बढाउन विभागले काम गर्ने उल्लेख गरे । यस्तै, टारबजार, हेवाखोला, अरुण बरुणलगायतका नदीमा बाढी नियन्त्रणका लागि विभागले अध्ययन गरिरहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो जिल्ला जलविद्युत्को क्षेत्रमा अत्यन्त धनी जिल्ला भएकाले यसको सही सदुपयोग गर्नुपर्ने बताए । उनले यहाँको प्रसारण लाइन निर्माणलाई समेत उच्च प्राथमिकता दिएर प्राधिकरणले काम गरिरहेको बताए । अपर अरुणलाई छिटोभन्दा छिटो वित्तीय व्यवस्थापन गरी अगाडि बढाउन खोजेको कार्यकारी निर्देशक घिसिङले बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सङ्खुवासभाका विद्युतीकरण नभएका स्थानमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लघु तथा साना जलविद्युत् केन्द्रमार्फत काम गर्न लागिरहेको बताए । उनले विभिन्न स्थानीय तहबाट जिल्ला सदरमुकाम खाँदबारी आएर पढेका तीन सय  विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न लागिएको जानकारी दिए ।

जलस्रोत, अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक दिनेश रजौरियाले विद्युत् उत्पादनको लागि केन्द्रले जलस्रोतको अध्ययन अनुसन्धानमा काम गर्दै आइरहेको बताए । जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले भोटखोला गाउँपालिकामा बन्न लागेको अपर अरुणको आयोजनाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

नेपाल विद्युत प्राधिकरण सङ्खुवासभा, सिँचाइ कार्यालय सङ्खुवासभा, आदिवासी जनजाती सल्लाहकार परिषद्, जिल्ला समन्वय समितिलगायतले जिल्लाको समस्या र आगामी दिनमा चाल्नुपर्ने कदमबारे अवगत गराएका थिए ।

सोही अवसरमा अरुण तेस्रो ४०० केभी प्रसारण लाइन सङ्घर्ष समिति, अरुण तेस्रो छुट मुआब्जा सङ्घर्ष समिति, चिचिला गाउँपालिका, नेपाल शिक्षक महासङ्घलगायतले मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।

Advertisment

थप समाचार