काठमाडौं : यस वर्षको शरद ऋतु (अटम सिजन) मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् ।
पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म ३२ आरोही समूहका ८३ महिला र २४६ पुरुष गरी तीन सय २९ जनाले आरोहण अनुमति लिइसकेका छन् । विभागको पर्वतारोहण शाखाको तथ्याङ्गअनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ८० महिला र २१० पुरुष गरी २५ आरोही समूहका २९० जनाले अनुमति लिएका छन् ।
सात हिमाल आरोहणका लागि नेपालसहित ५२ देशका आरोहीले अनुमति लिएका छन् । किलर माउन्टेनको रूपमा परिचित आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ ।
शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।
यस्तै, पुथा हिउँचुली आरोहणका लागि दुई आरोही समूहका नौं र अन्नपूर्ण चौथोका लागि एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ । त्यसैगरी धौलागिरी आरोहण लागि एक आरोही समुहका १४ जनाले अनुमति लिएका छन् ।
यस सिजनका लागि हिमाल आरोहणबापत तीन करोड ७४ लाख ४३ हजार ९०५ रुपैयाँ रोयल्टी संकलन भएको छ ।