Below Menu
Below Menu

प्रभावकारी बन्दै ‘छोरी बचत खाता’ कार्यक्रम

प्रभावकारी बन्दै ‘छोरी बचत खाता’ कार्यक्रम

रुकुमपूर्व : सिस्ने गाउँपालिकामा सञ्चालन भएको छोरी बचत खाता कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि गाउँपालिकामा छोरी बचत खाता कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा ८२ जना छोरीको ‘छोरी बचत खाता’ खोलिएको छ । कार्यक्रम सुरु भएयता उक्त कार्यक्रममा चार सय छोरीहरूको खाता खोलिएको छ ।

गाउँपालिकाले २०७७ साल साउनदेखि जन्मिएका छोरीको खाता खोलेर पाँच हजार रुपैयाँ जम्मा गर्दै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खातामा रकम जम्मा गर्ने गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्रप्रसाद यादवले जानकारी दिए।

छोरी बचत खाताका लागि चारपटक गर्भजाँच गराएको हुनुपर्ने, स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उनको भनाइ छ ।

सबै प्रक्रिया पूरा भएपछि एक जना संरक्षक लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ । बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइन छोरी बचत कार्यक्रमकी स्वास्थ्य संयोजक पुष्पा ओलीले बताइन । यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने उनको भनाइ छ ।

बीस वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउनेगरी गाउँपालिकाले कार्यविधि निर्माण गरेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए।

Advertisment

थप समाचार