काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक महिनामै कम्पनीहरुको व्यवसाय साढे ११ अर्ब रुपैयाँ बढेको देखिएको छ ।
गत साउन मसान्तको तुलनामा भदौं मसान्तसम्म ११ अर्ब ५५ करोड तीन लाख रुपैयाँ अर्थात ६२.३० प्रतिशतले व्यवसाय बढाएका हुन् । भदौं मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३४ लाख १२ हजार १३३ बीमालेख बिक्री गरी ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
गत साउन महिनामा बीमा कम्पनीहरुले ३ लाख २२ हजार ७८६ बीमालेख बिक्री गरी १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।
कम्पनीहरुले चालु आवको भदौं महिनामा मात्रै ११ अर्ब बढीको बीमा व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार लाख २० हजार ६८१ बीमालेख बिक्री गरी ११ अर्ब ५५ करोड २ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार भदौं मसान्तसम्म कम्पनीले १५ लाख ८० हजार ३७९ बीमालेख बिक्री गरी ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख ८८ हजार ९६६ बीमालेख जरी गरी एक अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको व्यपार गरेको छ । त्यस्तै नेशनल लाइफले ३ अर्ब ५८ करोडको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
त्यसैगरी भदौ मसान्तसम्म एशियन लाइफले एक अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सिटिजन लाइफले एक अर्ब २७ करोड ७८ लाख र सूर्यज्योति लाइफले एक अर्ब ८४ करोडको ५७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
चालु आवको दुई महिनामा सानिमा रिलयन्स लाइफले एक अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने हिमालयन लाइफले ३ अर्ब १० करोड १५५ लाख रुपैयाँ बीमाशुल्क उठाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
पाँच कम्पनी पुगेनन् अर्ब क्लबमा
प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा अधिकांश कम्पनीको व्यापारमा उल्लेखनीय वृद्धि हुँदा पाँच कम्पनीको व्यवसय करोडमै सिमित रहेको छ । भदौं मसान्तसम्म मेट लाइफले ९६ करोड ३ लाख र आईएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, यस अवधिमा सन नेपाल लाइफले ७७ करोड ९४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ८५ करोड ४७ लाख र प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
लघुबीमाले कमाए करिब ७ करोड
प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । भदौं मसान्तसम्म कम्पनीहरुले ३ लाख ७१ हजार ९६७ बीमालेख जारी गरी ६ करोड ९६ लाख ४२ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
यस अवधिमा गार्डियन माइक्रो लाइफले ३ करोड ३३ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले २ करोड ६३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
Advertisment