Below Menu
Below Menu

बाढीले साहस उर्जासहित १६ आयोजनामा क्षति, दुई आयोजनाको उत्पादन बन्द 

बाढीले साहस उर्जासहित १६ आयोजनामा क्षति, दुई आयोजनाको उत्पादन बन्द 

काठमाडौं : गत शुक्रबारदेखि परेको वर्षाका कारण विभिन्न स्थानमा निर्माणाधीन र सञ्चालित जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार निजी क्षेत्रका १६ वटा आयोजनाहरुको पावर हाउस हेडवक्स लगायतका उपकरणमा क्षति पुग्दा उत्पादन नै बन्द भएको छ ।

भिषण बर्वाका कारण आएको बाढीले मकवानुपरको मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजनाको पावर हाउस पूर्ण रुपमा डुबेको इप्पानले जनाएको छ । 

त्यसैगरी पाँचथरमा माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पनि पावर हाउस डुबानमा परेको छ । उक्त आयोजना गत वर्षको बाढीबाट पनि प्रभावित बनेको थियो । 

इप्पानका अनुसार  पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना पुनः क्षतिग्रस्त बनेको छ । गतवर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त बनेको हो ।

सोलखुम्बमा रहेको साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुग्दा उत्पादन बन्द भएको इप्पानले जनाएको छ ।

त्यसैगरी इलाममा रहेको सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ भने  उत्पादन बन्द भएको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको अर्को माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको इप्पानले जनाएको छ ।

इप्पानका अनुसार फेमे खोला जलविद्युत आयोजना १ मेगावाटको बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति भएको छ भने सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाटको टेलरेस, इन्टेक र टनेलमा क्षति भएको छ ।

लमजुङको सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाटमा पहुँचमार्ग र प्रोटेक्सन वालमा क्षति पुगेको छ । त्यस्तै २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनाको पहुँचमार्गमा ठूलो क्षति पुगेको छ ।

इप्पानका अनुसार २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुगेको छ भने ३ वटा कन्टेनर बगाएको छ । त्यस्तै १० मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ ।

बाढीले १५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनाको पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ भने ६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ ।

इप्पानका अनुसार ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति पुगेको छ भने, एक सय मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाको २ वटा स्काभेट, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको छ । बेलीब्रिज पनि बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ । 

यसका साथै जलविद्युत आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त नसकेको इप्पानले जनाएको छ ।
 

Advertisment

थप समाचार