Below Menu
Below Menu

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

बागमती : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । 

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आज ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनााका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार पाँच सय ३१ मिलिमिटर पानी भरिएर खतराको सङ्केत देखिएपछि दुई ढोका खोलिएको थियो ।

शनिबार साँझदेखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार अहिले जल विद्युत् उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । यसैबीच वर्षा रोकिएपछि पहिरोका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ र हेटौँडा–सिन्धुली जोड्ने सडकमा आज बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको छ । 

सडक विभाग र सुरक्षा निकायले हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र भिमफेदी–दक्षिणकाली खण्डमा बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए । त्यस्तै मदनभण्डारी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर आवागमन नियमित सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए । 

Advertisment

थप समाचार