Side Logo

पोलिसी सरेन्डरमा बाहिरियो बीमा क्षेत्रबाट एक अर्ब २१ करोड !

पोलिसी सरेन्डरमा बाहिरियो बीमा क्षेत्रबाट एक अर्ब २१ करोड !

काठमाडौं : पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको भदौंमा मात्र ९ हजार बढी बीमितले सवा एक अर्बका बीमा पोलिसी सरेन्डर गरेका छन् । 

यस अवधिमा १४ जीवन बीमा कम्पनीका ९ हजार ४४९ बीमितले एक अर्ब २१ करोड २२ लाख २३ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा २.५५ प्रतिशत अर्थात तीन करोड दुई लाख रुपैयाँले बढी हो । गत वर्षको भदौंमा ९ हजार ३८६ बीमितले एक अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका थिए ।

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका बीमितले पोलिसी सरेन्डर गरेका छन् । भदौंमा उक्त कम्पनीका दुई हजार ५०८ बीमितले ३५ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् ।

त्यस्तै, नेपाल लाइफका दुई हजार ६८ बीमितले ३३ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् भने राष्ट्रिय जीवन बीमा कम्पनीका एक हजार १० बीमितले १० करोड ५८ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आठ करोड ३४ लाख रुपैयाँ बराबरको ५९३ वटा, मेट लाइफको दुई करोड ६६ लाख ४५ हजार रुपैयाँको २९१ वटा, एशियन लाइफको सात करोड ९६ लाख रुपैयाँ बराबरको ८८१ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको एक करोड ९८ हजार रुपैयाँ बराबरको १६२ बीमालेख सरेन्डर भएका छन् ।

प्राधिकरणका अनुसार भदौंमा सन नेपाल लाइफको सबैभन्दा कम  ५७ लाख ३४ हजार रुपैयाँ बराबरको ५९ वटा बीमालेख सरेन्डर भएका छन् भने यस अवधिमा रिलायबल नेपाल लाइफका १४६ बीमितले ९४ लाख ८० हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । त्यस्तै, सिटिजन लाइफ नेपालका १९७ बीमितले एक करोड २९ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् ।

यसैगरी, सूर्यज्योति लाइफको सात करोड ३८ लाख रुपैयाँ बराबरको ६१६ वटा, सानिमा रिलायन्स लाइफको तीन करोड २० लाख रुपैयाँको २०० वटा, हिमालयन लाइफको पाँच करोड ७२ लाख रुपैयाँ बराबरको ५८९ वटा र प्रभु महालक्ष्मी लाइफको एक करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको १२९ बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Sponsored Advertisment

Advertisment