काठमाडौं : यस बर्षको शरद ऋतु (अटम सिजन) मा अन्नपूर्ण हिमाललगायत विभिन्न हिमाल आरोहणको लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागको अनुसार यस सिजनका लागि हालसम्म ६१ आरोही समूहका ११३ महिला र ३९७ पुरुष गरी पाँच सय १० जनाले आरोहण अनुमति लिइसकेका छन् ।
विभागको अनुसार यस अवधिमा मनास्लु आरोहणका लागि सर्वाधिक आरोहीहरुले अनुमति लिएका छन् । शरद ऋतुमा मनास्लु आरोहणको लागि उपयुक्त मौसम भएकाले प्रत्येक बर्ष यो सिजनमा आरोहण गर्न उल्लेख सङख्यामा आरोही आउने गरेका छन् ।
हिमाल आरोहण गर्न अनुमति लिएका ६१ टिमबाट चार करोड ९७ लाख ३३ हजार ५८ रुपैयाँ रोयल्टी संकलन भएको छ । जसमा मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका ३०८ जनाबाट तीन करोड ७१ लाख ४३ हजार १४३ रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यसै गरी यस अवधिमा पुँथा हिमचुली हिमाल आरोहणका लागि अनुमति लिएका २८ जनाबाट नौ लाख ३५ हजार ६३७ रुपैयाँ, धौलागिरी आरोहणका लागि अनुमति लिएका १४ जनाबाट १६ लाख ८९ हजार ३० रुपैयाँ, आमाडब्लम आरोहणका लागि अनुमति लिएका १८ जनाबाट नौ लाख ६० हजार १८० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
यस बर्षको शरद याममा हिमाल आरोहणका लागि ५८ देशका आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा बढी चीनका ६६ जना आरोही रहेका छन् । त्यस्तै रुसका ३५, युनाइटेडस्टेडका ४७, जापानका ३५,र अन्य अस्ट्रेलिया, भारत, स्पेन, जर्मनी, रोमनिया लगायतका विभिन्न देशका नागरिकहरु रहेका छन् ।
Sponsored Advertisment
Advertisment