काठमाडौं : सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।
गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्र्यान,ठूल्ठूला ढुङ्गा थुप्रिएका छन् । दुईवटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुङ्गालगायत थुप्रिएको अनुमान गरिएको छ ।
कन्ट्रोल रुम भवन, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो । कन्ट्रोल रुपमा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुङ्गासमेत खसिरहेको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको थियो जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । बाँधबाट डिस्याण्डरबीचमा रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनीले दैनिक चार करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोली विज्ञसमूहसहित मङ्गलबार आयोजनास्थल पुगी पहिरोले पुर्याएको क्षतिका जानकारी लिएको छ ।
टोलीले संरचनाहरुको मर्मत सम्भार गरी विद्युत्गृह सञ्चालन गर्ने विभिन्न विकल्पहरुबारे विज्ञसमूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्वेयरहरु पनि सहभागी थिए ।
राज्यमन्त्री तामाङले माथिल्लो तामाकोशी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिट्टो सुरु गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे ।
Advertisment