काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज (असोज २० गते) बाट खसीबोका र च्यांग्राको बिक्री खुला गरेको छ । कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार कम्तीमा नवमीको दिनसम्म खसी, बोका र च्यांग्रा थापाथलीस्थित कम्पनीको प्रादेशिक कार्यालयमा बिक्री खुला गरिएको हो।
खाद्यले चाडपर्वको समयमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष खसीबोका र च्यांग्रा खरिद गरेर बिक्री गर्ने गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरिएको छ ।
यस्तै, च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ छुुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री खुला गरिएको खाद्यले जनाएको छ ।
न्यौपानेका अनुसार शनिबारसम्म हेटौँडाबाट पहिलो चरणमा २०८ खसीबोका र ३०० च्यांग्रा मुस्ताङबाट भित्रिसकेका छन् । बाँकी खसीबोका आउने क्रममा रहेको उनले बताइन् । खाद्यले यस वर्ष दसैँमा एक हजार ५०० खसीबोका र ३०० च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको छ।
Advertisment