Below Menu
Below Menu

बैकिङ प्रणालीमा निक्षेपमा ६६ खर्ब नाघ्यो, एकैदिन थपियो १२ अर्ब 

बैकिङ प्रणालीमा निक्षेपमा ६६ खर्ब नाघ्यो, एकैदिन थपियो १२ अर्ब 

काठमाडौं : बैंकहरुको निक्षेप थपिने क्रम बढेपछि बैंकिङ प्रणालीमा निक्षेप सवा ६६ खर्ब नाघेको छ । बैंक, वित्तीय संस्थाको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि चालू आवमा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ ।

सुस्त कर्जा प्रवाह र सुधारिएको रेमिट्यान्स आप्रवाहका कारण निक्षेप थपिने क्रम बढ्दा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज १९ गतेसम्म कुल निक्षेप ६६ खर्ब १३ अर्ब रुपैयाँ रहेकोमा एकैदिनमा १२ अर्ब रुपैयाँ निक्षेप थपिँदा असोज २० गतेसम्म ६६ खर्ब २५ अर्ब रुपैयाँ पुगेको हो । 

उक्त दिनसम्म कुल कर्जा प्रवाह ५२ खर्ब ६७ अर्ब रुपैयाँ छ । असोज २० गते मात्र बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह आठ अर्ब रुपैयाँले बढेको हो ।

यस अवधिमा वाणिज्य बैंकहरुमा मात्रै ५८ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप छ भने विकास बैंक र फाइनान्स कम्पनीमा सात खर्ब २७ अर्ब रहेको छ । यस्तै वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४६ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको कर्जा लगानी रकम छ खर्ब चार अर्ब रुपैयाँ छ । 

राष्ट्र बैंकका अनुसार उक्त दिनसम्म बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८.१५ प्रतिशत कायम भएको छ । असोज १९ गतेसम्म सीडी रेसियो ७८.१६ प्रतिशत थियो । यस्तै असोज २० गतेको औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । 
 

Advertisment