काठमाडौं : बीमा कम्पनीहरुलाई प्राधिकरणले तोके अनुसारको चुक्ता पूँजी पुर्याउन सकस बनेको छ । नियामक निकाय बीमा प्राधिकरणले पुँजी वृद्धिका लागि पटक पटक छुट र सुविधा दिँदा पनि अझै पनि १४ वटा बीमा कम्पनीहरुले तोकिएको पुँजी पुर्याउन सकेका छैनन् ।
नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको नीति अघि सार्यो । साविकको (बीमा समिति) ले निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ र जीवन बीमा कम्पनीहरुको पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी बनाउने निर्णय गरेको थियो ।
प्राधिकरणले पुँजी वृद्धिको योजना अघि सारेको २५ महिना बितिसकेको छ । प्राधिकरणले २०७९ चैत मसान्तसम्म चुक्ता पुँजी पुर्याउनुपर्ने र सो अवधिमा चुक्ता पुँजी पुर्याउन नसक्ने संस्थाले मर्जर तथा एक्विजेशनमा पुँजी बढाउनुपर्ने अघि सारेको थियो ।
उक्त व्यवस्थासँगै अधिकांश कम्पनीहरु मर्जरमा गए भने केही कम्पनीहरुले वैकल्पिक बाटो रोजे । प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पुँजी पुर्याउन कम्पनीहरुले मर्जर (गाभ्ने–गाभिने) प्रक्रियासँगै, हकप्रद र बोनस शेयर जारी गर्दा समेत अझै तोकिएको पुँजी पुर्याउन सकेका छैनन् ।
पुँजी वृद्धिका लागि पटक पटक छुट तथा सुविधा दिँदा समेत कम्पनीहरुले पूँजी पुर्याउन नसकेपछि प्राधिकरणले पुुस मसान्तसम्मको लागि अर्को मौका दिएको छ । प्राधिकरणले २०८१ असार २६ गते एक निर्णय गर्दै तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई पुस मसान्तसम्मको समय दिएको छ ।
यसअघि प्राधिकरणले पुँजी वृद्धिका लगि २०८१ असार मसान्तसम्मको समय दिएको थियो । उक्त समयमा पनि कम्पनीहरुले पूँजी पुर्याउन नसकेपछि प्राधिकरण लचिलो बन्दै कम्पनीहरुलाई अर्को मौका दिएको हो ।
हाल सञ्चालित बीमा कम्पनीहरुको संख्या २८ रहेको छ । जसमा १४ निर्जीवन र १४ जीवन बीमा कम्पनी रहेका छन् । प्राधिकरणले तोके अनुरुपको पुँजी पुर्याउनका लागि जीवन बीमातर्फबाट सात कम्पनीहरुबाट ७ अर्ब ९२ करोड ७८ लाख ६४ हजार र निर्जीवन बीमातर्फ पनि सात वटै कम्पनीबाट ६ अर्ब ४९ करोड ५७ लाख ३७ हजार रुपैयाँ गरी कुल १४ अर्ब ४२ करोड ३६ लाख १ हजार रुपैयाँ आवश्यक छ ।
हालसम्म जीवन बीमातर्फ नेपाल लाइफ, हिमालयन लाइफ, सूर्यज्योति लाइफ, नेशनल लाइफ र आईएमई लाइफ इन्स्योरेन्स बाहेक अरु कम्पनीहरुले तोकिएको न्यूनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।
यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट बाहेक अरुको चुक्ता पुँजी दुई अर्ब ५० करोड पुग्न सकेको छैन ।
पुँजी वृद्धिको कसरतमा बीमा कम्पनी
पूँजी वृद्धिका लागि प्राधिकरण लचिलो बन्दै गएपछि बीमा कम्पनीहरु पुँजी पुर्याउने कसरतमा छन् । प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पुँजीमा गणना गर्न पाइने बाटो खुला गरिदिएको छ । यसले कम्पनीहरुलाई पुँजी वृद्धिका लागि केही सहज भएको छ ।
जीवन बीमा कम्पनीतर्फ रिलायबल नेपाल लाइफले बोनस शेयरबाटै चुक्ता पुँजी पुर्याउने तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । प्राधिकरणले निर्धारण गरेको पुँजी पुर्याउन कम्पनीलाई थप ३६ करोड रुपैयाँ आवश्यक छ ।
प्रभु महालक्ष्मी लाइफको ५ अर्ब पुँजी पुग्न ७० करोड ४० लाख रुपैयाँ आवश्यक छ । हाल कायम पुँजीबाट यसले १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । उक्त बोनस वितरण पछि अपुग पुँजी पुर्याउन ७ प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी यस कम्पनीले गरेको छ ।
यता, सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको हाल कायम चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साथै, सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । उक्त हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी पुग्नेछ ।

सिटिजन लाइफ इन्स्योेरेन्सको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न १ अर्ब ६ करोड २५ लाख रुपैयाँ अपुग रहेको छ । उक्त रकम हकप्रद र बोनस गरी करिब २८ प्रतिशत निष्कासन गरेर पुँजी पुर्याउने यस कम्पनीले जनाएको छ ।
त्यस्तै, एसियन लाइफले ४२ प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति मागेको छ । हाल एसियन लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद शेयर जारी भएपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । बाँकी अपुग पुँजी बोनस शेयरमार्फत पुर्याउने कम्पनीले जनाएको छ ।
यता, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । उक्त पुँजीबाट ८८ प्रतिशत हकप्रद निष्कासन गर्न यस कम्पनीलाई धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ । उक्त हकप्रद शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ ।
निर्जीवन बीमा कम्पनी
त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड इन्सुरेन्सले १५ प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
यता, नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर बिक्री भएपछि यसको चुक्ता पुँजी २ अर्ब ५० करोडमाथि पुग्नेछ । सानिमा जीआईसी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यस कम्पनीले ५० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

यता, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यसको चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी बोनस शेयरमार्फत पुर्याउनेछ ।
एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाइसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बाँकी बोनस सेयर मार्फत २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउने कम्पनीले जनाएको छ ।
Advertisment