काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय सूचना जारी गर्दै वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन भनेको हो ।
अपरिचित व्यक्ति वा नम्बरबाट WhatsApp, Viber, Messenger जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी, FOREX आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू प्राप्त भएमा सचेत हुन राष्ट्र बैंकले भनेको छ ।
‘यस्ता सन्देशहरू वित्तीय ठगीका लागि पठाइएका सन्देशहरू हुने गर्दछन् । यस्ता सन्देशहरूमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईलाई आकर्षक प्रस्तावहरू दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईंलाई आर्थिक हानि/नोक्सानी पुग्न सक्छ । अतः अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै बुद्धिमानी हुन्छ’, सूचनामा भनिएको छ ।
साथै, कहिलेकाहीँ परिचित व्यक्तिको Messenger, WhatsApp बाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै QR कोड समेत प्राप्त हुने हुँदा यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिन समेत राष्ट्र बैंकले भनेको छ ।
पछिल्लो समय अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरूपहरू समेत बढिरहेको भन्दै राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक रहेको जनाएको छ ।
Advertisment