काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार यस अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.१७ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियाो । यस अवधिमा बैंकको ब्याज आम्दानी र सञ्चालना नाफा बढेका कारण नाफामा वृद्धि भएको हो ।
गत वर्षको असोज मसान्तसम्म एक अर्ब ४ करोड ४१ लाख रुपैयाँ रहेको बैंकको ब्याज आम्दानी बढेर एक अर्ब ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको सञ्चालन मुनाफा १७.७५ प्रतिशतले बढेर ४० करोड ३२ लाख रुपैयाँ भएको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६२ करोड ९० लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म आइपुग्दा बैंकको खराब कर्जा बढेर ३.१६ प्रतिशत पुगेको छ । गत वर्षको बैंकको एनपीएल १.४९ प्रतिशत रहेको थियो। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष १२.९९ रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको मूल्य आमदानी अनुपात २६.०१ गुणा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १५४.१० रुपैयाँ रहेको छ।
Advertisment