काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा साढे ११ अर्बको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म कम्पनीहरुले सात लाख ३७ हजार ९३० बीमालेख बिक्री गरी ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
उक्त रकम गत भदौं मसान्तको तुलनामा ४७.३० प्रतिशत अर्थात तीन अर्ब ७१ करोड ६५ लाख रुपैयाँले बढी हो । भदौं मसान्तसम्म कम्पनीहरुले ४ लाख ७० हजार ५१४ बीमालेख बिक्री गरी ७ अर्ब ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेका थिए ।
प्राधिकरणका अनुसार असोजमा मात्रै कम्पनीहरुले २ लाख ६७ हजार ४१२ बीमालेख बिक्री गरी तीन अर्ब ७१ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
अर्ब क्लबमा तीन कम्पनी
प्राधिकरणका अनुसार असोज मसान्तसम्म तीन कम्पनीहरुले एक अर्बमाथिको व्यापार गरेका छन् । सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ६९ हजार ७४७ बीमालेख बिक्री गरी एक अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
त्यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले असोजसम्म ७४ हजार ७८९ बीमालेख बिक्री गरी एक अर्ब १७ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले एक अर्ब १२ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
अन्य कम्पनीको व्यापार
चालु आवको तीन महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड ४५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड ३९ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ४१ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्दा नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, यस अवधिमा प्रभु इन्स्योरेन्सले ४७ करोड ७२ लाख र एनएलजीले ७५ करोड २२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।
प्राधिकरणका अनुसार असोज मसान्तसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै सानिमा जिआईसीले ५८ करोड ८९ लाख, आईजीआई प्रुडेसिन्यलले ९० करोड नौ लाख र युनाइडेड अजोड इन्स्योरेन्सले ६८ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघु बीमाको व्यापार साढे १८ करोड
प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले साढे १८ करोडको व्यवसाय गरेका छन् । कम्पनीहरुले ८३ हजार ५०३ बीमालेख जारी गरी १८ करोड ५६ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् ।
चालु आवको यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी पाँच करोड ५० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चार करोड ६१ लाख, स्टार माइक्रोले चार करोड १८ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले चार करोड २६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
Advertisment