काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारका लागि आज सुनको असर्फी बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आज धनतेरसका दिन सुनको असर्फी बिक्री गर्न लागिएको जनाएको हो ।
राष्ट्र बैंकले धनतेरसको अघिल्लो दिन कात्तिक १३ गते एकदिन मात्र सुनको असर्फी बिक्री गर्ने जनाएको छ । महाशाखाले २.५ ग्रामका सुनको असर्फी प्रतिव्यक्ति एक थानका दरले फर्स्ट कम फर्स्ट सर्भडका आधारमा सो दिन मात्र बिक्री खुला गर्नेछ। ग्राहकले बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म महाशाखाबाट सुनका असर्फी खरिद गर्न सक्नेछन्।
तर, चाँदीको स्मारिका तथा मेडालियनको बिक्री भने २०८१ कार्तिक ११ देखि नै बिक्री खुल गरेको थियो । ग्राहकले भोली कात्तिक १४ गतेसम्मै चाँदीका स्मारिका तथा मेडालियन किन्न पाउनेछन् ।
चाँदीका असर्फी, सिक्का, स्मारिका तथा मेडालियन भने प्रति व्यक्ति बढीमा पाँच थानसम्म (गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येवाट) विक्री गरिने बैंकले जनाएको छ ।
सुनका असर्फी र चाँदीको सिक्का खरिद गर्न ग्राहकले अनिवार्य रुपमा नक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ। सुन असर्फी तथा चाँदीको सिक्का खरिदका लागि नगद तथा क्यूआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था महाशाखाले गरेको छ।
सुनको असर्फीको दररेट दैनिक रुपमा निर्धारण हुने भएकोले सोही दिन ११ बजेपछि मात्र महाशाखाबाट बिक्री कार्य सुरु गरिने बैंकले जनाएको छ ।
Advertisment