काठमाडौं : दशैँ–तिहार लगायतका चाडपर्वले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा सात खर्ब ६१ अर्ब ३१ करोड १२ लाख ५५ हजार रुपैयाँ नगद प्रवाह भएको छ ।
उक्त रकम गत असारको तुलनामा ११.९४ प्रतिशत अर्थात ८१ अर्ब २६ करोड २४ लाख रुपैयाँले बढी हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख २ हजार रुपैयाँ रहेको थियो ।
खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताबाट सवा २४ अर्ब रुपैयाँ बढी नगद मौज्दात घटेको छ । सार्वजनिक तथ्यांक अनुसार चालु आर्थिक वर्षको असारको तुलनामा असोजमा उक्त रकम २४ अर्ब २५ करोड रुपैयाँले घटेको हो ।
गत असारमा सरकारी खातामा साढे तीन खर्ब रुपैयाँ नगद मौज्दात रहेको थियो । असोजमा उक्त रकम घटेर तीन खर्ब ३१ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो । गत असार मसान्तसम्म तीन खर्ब ५५ अर्ब ४५ रुपैयाँ रहेको थियो ।
यस अवधिमा सरकारी ढुकुटीमा साढे एक खर्ब बढी निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल एक खर्ब ५१ अर्ब ६१ करोड २७ लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो ।
२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम असोज मसान्तसम्म आइपुग्दा ८७ अर्ब ६५ करोड ९३ लाख रुपैयाँले बढेको छ ।
यस अवधिमा सरकारको सरप्लस मौज्दात शुन्य रहेको छ । असोज मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब १२ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।
२०८१ असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड ९५ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब २२ करोड ६१ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति एक खर्ब ५० अर्ब ८१ करोड ३३ लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम २० खर्ब ५६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ रहेको थियो । उक्त सम्पति चालु आवको असोज मसान्तसम्म आइपुग्दा ७.३३ प्रतिशतले बढेर २२ खर्ब सात अर्ब ३५ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
Advertisment