काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी गत कार्तिक ५ देखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले सयुक्त रुपमा आयोजना गरेको वार्षिक बैठक २०२४ मा सहभागी भएका थिए ।
उक्त कार्यक्रममा कोष र समूहका सदस्य राष्ट्रका अर्थ मन्त्री, केन्द्रीय बैंकका गभर्नर र वित्त तथा मौद्रिक अधिकारीहरूको सहभागिता रहेको थियो । बैठकको क्रममा सञ्चालन भएको Plenary बैठकमा माननीय उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेतृत्व गरेको नेपालको टोलीमा गभर्नर अधिकारी र अर्थ सचिव डा. राम प्रसाद घिमिरेको पनि सहभागिता थियो ।
उक्त Plenary को अध्यक्षता माल्दिभ्सका केन्द्रीय बैंकका गभर्नर Ahmed Munawar ले गरेका थिए भने IMF का Managing Director Kristalina Georgieva र World Bank Group का President Ajay Banga ले Plenary मा सम्बोधन मन्तव्य राखेका थिए ।
मन्तव्यका क्रममा उनीहरूले बेट्रन उड्स सम्मेलनको ८० वर्षका उपलब्धिहरू, उक्त अवधिमा विश्व अर्थतन्त्रमा देखिएका उतारचढाव तथा तिनलाई सम्बोधन गर्न बैंक र कोषले खेलेका भूमिकाहरूको बारेमा प्रकाश पारेका थिए ।
बैठकका क्रममा गभर्नर अधिकारी 54th Joint Governors' Meeting of IMF-WB South East Asia Constituencyमा सहभागी भए । यसका साथै उनले कोषका Deputy Managing Director Bo Li, Asia Pacific Department (APD), Monetary and Capital Market Department (MCM), Legal Department, South East Asia Voting group (SEAVG), Safeguard Assessment का पदाधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
उक्त बैठक तथा भेटवार्ताहरूमा नेपालले कोषबाट लिएको विस्तारित कर्जा सुविधा अन्तर्गतका कार्यक्रमहरूको प्रगति समीक्षा तथा भावी कार्ययोजनाका बारेमा छलफल भएको थियो । वार्षिक बैठकको साइडलाइनमा आयोजित 44th SAARCFINANCE Governor’s Meeting मा समेत गभर्नर अधिकारी सहभागी भए ।
यसैगरि Alliance for Financial Inclusion (AFI) अन्तर्गत गठन भएको SARFII को अध्यक्षता नेपालले गरिरहेको सन्दर्भमा गभर्नर अधिकारीले SARFII का उपाध्यक्ष स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमिल अहमदसँग पनि क्षेत्रिय स्तरमा भुक्तानी प्रणाली विकासमा गर्न सकिने सहकार्यका विषयमा छलफल गरेका थिए ।
बैठककै क्रममा गभर्नर अधिकारीले अन्र्तराष्ट्रिय वित्त निगम र निजी क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधिसँग पनि भेटवार्ता गरे ।
हाल विश्व बैंक समूहअन्तर्गत १८९ राष्ट्रहरू र अन्तर्राष्ट्रिय मुद्रा कोषमा १९१ राष्ट्रहरू आवद्घ छन्। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहले संयुक्त रूपमा आयोजना गर्ने यस प्रकारको वार्षिक बैठकमा यस पटक गभर्नर अधिकारीका साथ आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको पनि सहभागिता थियो
Advertisment