काठमाडौं : पछिल्लो समय वाणिज्य बैंकहरुको आधारदर (बेस रेट) निरन्तर घट्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकहरुको औसत आधारदर ७.३४ प्रतिशत रहेको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा २.६२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकहरुको बेसरेट ९.९७ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा बैंकहरुको आधार दर साढे दुई प्रतिशतले घटेको हो ।
पछिल्लो समय बैंकिङ प्रणाली कर्जाको माग कम हुँदा निक्षेप थुप्रिएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको विस्तार हुन नसक्दा ब्याजदर निरन्तर रुपमा घटेको हो बैंकहरुको घट्दो बेस रेटकै कारण ऋणीलाई समेत राहत मिलेको छ । बेस रेट ब्याजदरसँग सम्वन्धित हुने हूँदा बेस रेट बढेको खण्डमा कर्जाको ब्याजदर पनि बढ्छ भने घटेको बेलामा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।
ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार बेस रेट (आधार दर) हो । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो । बैंकहरुको बेस रेट अनुसार नै ऋणको ब्याज महँगो अथवा सस्तो हुने संकेत गर्छ । यस्तो रेट कम भएका बैंकहरुले कम ब्याजदरमै कर्जा उपलब्ध गराउन सक्नेछन । ऋणीले बेस रेट हेरेरै कर्जा लिनका लागि बैंक छनोट गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृतिअनुसार बेस रेटमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने गरेका छन् । त्यसमा पनि बैंक र कर्जाको प्रकृति अनुसार फरक पनि हुने गर्दछ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको छ । जसका कारण अधिकांश बैंकहरू को आधारदर एकल अंकमा झरिसकेको छ । ब्याजदर निरन्तर रुपमा घटेपनि कर्जाको माग बढ्न सकेको छैन ।
कुन बैंकमा पाइन्छ सस्तो ब्याजमा ऋण
बैंकहरुको रिर्पोट अनुसार यसअवधिमा सबैभन्दा कम आधारदर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको आधारदर जम्मा ५.७१ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०५ प्रतिशत रहेको छ ।
यस्तै, एभरेष्ट बैंकको बेस रेट पनि ६.०८ प्रतिशत रहेको छ । त्यस्तै नेपाल बैंकको आधार दर ६.७२ प्रतिशत, नबिल बैंककोे ७.०२ प्रतिशत, कृषि विकास बैंकको ७.०७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ७.०८ र सानिमाको ७.२४ प्रतिशत रहेको छ ।
त्यसैगरी असोज मसान्तसम्म ग्लोबल आइएमईको बैंकको बेसरेट ७.२९ प्रतिशत, कुमारीको ७.४८ प्रतिशत, एनएमबिको ७.४९ प्रतिशत, सिद्धार्थको ७.५८, माछापुच्छ्रेको ७.६१ प्रतिशत, प्रभुको ७.६५ प्रतिशत, नेपाल एसबिआईको ७.७२ प्रतिशत, लक्ष्मी सनराइजको ७.७९ प्रतिशत, र सिटिजनको ७.९२ प्रतिशत रहेको छ ।
असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार एआईसी एशियाको बैंकको आधारदर ८.३७ प्रतिशत रहेको छ भने हिमालयन बैंकको आधारदर सबैभन्दा धेरै ८.३५ प्रतिशत रहेको छ ।
Advertisment