काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले सस्तो ब्याजदरमा चार महिनामै करिब १० खर्ब तरलता उठाएको छ । राष्ट्र बैंकले कात्तिक २१ गतेसम्म औसत २.९७ प्रतिशत ब्याजदरमा नौं खर्ब ९९ अर्ब ९० करोड रुपैयाँ निक्षेप उठाएको हो ।
केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणका माध्यममार्फत २१ दिने अवधिका लागि १४ पटक, १४ दिन अवधिका लागि दुई पटक, सात दिनका लागि तीन पटक, दुईदिन र १३ दिनका लागि एक/एक पटक गरी गरी ११ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप आह्वान गरेको थियो । जसमा बैंक तथा वित्तीय संस्थाले नौं खर्ब ९९ अर्ब ९० करोड रुपैयाँ बराबरको मात्र निक्षेप सङ्कलन बोलपत्र खरिद गरेका हुन् ।
राष्ट्र बैंकले न्यूनतम २.८३३३ प्रतिशतदेखि अधिकतम २.९९९९ प्रतिशतसम्मको ब्याजदरमा बजारबाट निक्षेप उठाएको हो । जबकि बैंक तथा वित्तीय संस्थाहरूको औसत निक्षेपको ब्याजदर ६ प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
Advertisment