Below Menu
Below Menu

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ

भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यसवर्ष पनि भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा आज छठ पर्व भव्य रुपमा मनाइँदै छ । छठ मनाउनेको भीड बाक्लिँदै गएको र छठका सामान धमाधम छठ घाटमा राख्न थालिएको छ ।

छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन् । तराई–मधेशबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा बसोबास गरेकाले भक्तपुरको कमल पोखरीमा छठ मनाउने तयारी गरेका छन् ।  

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा दुई सयभन्दा बढी परिवारले पोखरी सिङ्गारेर, मूर्ति राखेर र पूजाको तयारी गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो । छठ पर्वका लागि यहाँका स्थानीयवासीले सहयोग गरी सामाजिक सद्भव व्यक्त गरेको उनले बताए ।

भक्तपुर र ललितपुरको सिमानास्थित गोदावरी खोलामा पनि आज छठ पर्वको तयारी गरी छठ मनाउनेको बाक्लो चहलपहल रहेको बालकोट बस्दै आएका दशरथ ठाकुरले जानकारी दिए ।

गोदावरी खोला सिङ्गारिएर झकिझकाउ बनाइएको र बालकोट, सिरुटार र ललितपुरको टीकाथली, चाँगाथलीदेखि सातदोबाटोसम्मका क्षेत्रमा बस्दै आएका दुई सय बढी परिवारले छठ मनाउने सामग्री ल्याउन थालेको उनले बताए ।

छठपर्वको अवसरमा आज साँझ अस्ताउँदो सूर्य र भोलि शुक्रबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुने उनले जानकारी दिए ।

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी आज जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीको अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोलि शुक्रबार सप्तमीको दिन उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने उनले बताए । 

Advertisment

थप समाचार