काठमाडौं : राजस्व अनुसन्धान विभागले राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनतर्फ २ अर्ब १२ करोड बढीको मुद्दा दर्ता गरेको छ ।
विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनतर्फ ४६ प्रतिवादी रहेको १८ वटा मुद्दामा कुल २ अर्ब १२ करोड ५९ लाख २५ हजार सजाय माग दाबी गरेको हो ।
विभागले राजश्व चुहावटतर्फ १६ करोड ७८ लाख २१ हजार २९८ रुपैयाँ माग दाबी गर्दै ३० जना प्रतिवादीविरुद्ध ५ वटा मुद्दा दायर गरेको छ । उक्त मुघामा १६ करोड ७८ लाख २१ हजार २९८ रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यस्तै, विदेशी विनिमय अपचलनतर्फ विभागले एक अर्ब ९५ करोड ८१ लाख ३ हजार ७३४ रुपैयाँ माग दाबी गर्दै १६ जना प्रतिवादीविरुद्ध १३ वटा मुद्दा दायर गरेको छ । विभागले ६५ करोड २७ लाख १ हजार २४४ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
त्यस्तै विभागले मालवस्तु तथा ढुवानी साधनको अनुगमन (भीसीटीएस) तर्फ अनुगमनबाट ५५ लाख ९३ हजार जरिवाना असुल भएको जनाएको छ ।
असोज मसान्तसम्म वेभमा आधारित मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) को अनुगमनबाट १५८ फार्म तथा कम्पनीलाई कारबाही भएको विभागले जनाएको छ ।
यसका साथै विभागले आर्थिक सुशासन कायम गर्न पछिल्लो समय राजस्व चुहावट र विदेशी विनिमय अपचलन नियन्त्रणलाई प्रभावकारी बनाउँदै लगिएको दाबी गरेको छ ।
