Below Menu

बैंकिङ क्षेत्रले अनुत्पादक कर्जा घटाएर उत्पादनशील अर्थतन्त्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

बैंकिङ क्षेत्रले अनुत्पादक कर्जा घटाएर उत्पादनशील अर्थतन्त्रको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रको सफलता कर्जा प्रवाहको आकारले मात्र नभई राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा पुर्‍याएको योगदानका आधारमा मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।

Sponsored Advertisement

सोमबार नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले उत्पादनशील अर्थतन्त्र निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।

नेपाल बैंकको ऐतिहासिक योगदानको चर्चा गर्दै उनले बैंक स्थापना हुनुको मूल उद्देश्य आर्थिक उन्नति, सर्वसाधारणलाई वित्तीय सुविधा र मुलुकको समग्र विकाससँग जोडिएको उल्लेख गरे । उनले बैंकले आफ्नो आगामी यात्रा थप प्रभावकारी बनाउन तीनवटा प्रमुख सुधारका एजेन्डालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनका अनुसार उत्पादनशील क्षेत्रमा वित्तीय स्रोतको परिचालन, संस्थागत सुशासन तथा वित्तीय अनुशासन र प्रविधिमैत्री बैंकिङ सेवा बैंकिङ क्षेत्रका प्रमुख सुधारका क्षेत्र हुन् ।

उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री वाग्लेले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमुखी उद्योग तथा साना र मझौला उद्योगमा कर्जा प्रवाह बढाउनुपर्ने बताए ।

उनले अनुत्पादक क्षेत्रमा भइरहेको कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रमा निर्देशित गर्नुपर्ने उल्लेख गर्दै उत्पादन र उद्यमशीलता प्रवर्द्धनमा बैंकले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

त्यसैगरी, बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको चुनौती समाधान गर्न कर्जा असुली प्रक्रिया, सम्पत्तिको गुणस्तर र आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनले बताए ।

संस्थागत सुशासन र वित्तीय अनुशासनलाई बैंकप्रतिको जनविश्वासको आधारका रूपमा व्याख्या गर्दै वाग्लेले पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए । सरकारी स्वामित्वको बैंक भएकाले नेपाल बैंकले सुशासन र व्यावसायिक कार्यसम्पादनमा उच्च मापदण्ड कायम गर्नुपर्ने उनको भनाइ थियो ।

बदलिँदो प्रविधि र ग्राहकको अपेक्षाअनुसार बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि उनले जोड दिए । डिजिटल बैंकिङको विस्तारसँगै साइबर सुरक्षा र तथ्यांक संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा समेट्न बैंकले थप पहल गर्नुपर्ने वाग्लेको धारणा थियो ।

अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

उनले नेपाल बैंक आगामी दिनमा अझ सबल, प्रतिस्पर्धी र प्रभावकारी बन्दै नेपालको आर्थिक समृद्धिको यात्रामा सशक्त साझेदार बन्ने विश्वास व्यक्त गर्दै ९०औँ वार्षिकोत्सवको शुभकामना दिए ।

थप समाचार