Below Menu
Below Menu

पन्ध्र दिनभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगहरुलाई प्राधिकरणको ताकेता

पन्ध्र दिनभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन उद्योगहरुलाई प्राधिकरणको ताकेता

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरुलाई बक्यौता महसुल बुझाउन ताकेका दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै मंसिर १२ गतेभित्र अर्थात १५ दिन भित्रमा सम्बन्धित वितरण केन्द्रमा बक्यौता महसुल बुझाउन भनेको हो ।

उक्त तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने प्राधिकरणले बताएको छ । मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण संचालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको सूचनामा उल्लेख छ । 

प्राधिकरणले सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्रि टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बिल भुक्तानी गर्न सूचना जारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलनमार्फत जनतालाई अध्याँरोमा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता कानुनबमोजिम उठाइने बताएका छन् । 

“मन्त्रिपरिषद्को निर्देशनअनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरुले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रियाअनुसार अघि बढ्छौँ”, कार्यकारी निर्देशक घिसिङले भने, “यसबीचमा बक्यौता उठाउन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत सबैले सहयोग गर्नुपर्छ ।”

प्राधिकणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरुले त्यसको सदुपयोग नगरेको जानकारी दिँदै उनले अबको १५ दिनभित्र बक्यौता नबुझाए यो विषय सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको सरोकार मात्रै नभई जनसरोकारको विषय बन्ने स्पष्ट पारेका थिए । 

Advertisment