काठमाडौं : हिमालयन रिइन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमाशुल्क बढेसँगै कर्जा तथा लगानीबाट हुने आम्दानी बढ्दा नाफा बढेको हो ।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ६९.३६ प्रतिशतले बढेर ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट १८ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ।
साथै यस अवधिमा कम्पनीले ९२ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क गत वर्षको तुलनामा १०.९५ प्रतिशतले बढी हो । गत वर्ष इन्स्योरेन्सले ८३ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । यस अवधिमा इन्स्योरेन्सको इपीएस १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ ।
असोज मसान्तसम्म १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।
Advertisment