काठमाडौं : हाल सञ्चालनमा रहेका ६ वटा होटलहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत व्त्तिीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा होटहरुको नाफा पौने १३ करोड रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्म होटलहरुले १२ करोड ७७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.८५ प्रतिशतले बढी हो। गत वर्ष होटलहरुको नाफा ११ करोड २ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।
हाल बजारमा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये सिटि होटल र कालिञ्चोक दर्शन नोक्सानीमा रहेको छन् । यस अवधिमा आइपुग्दा ओरियन्टल होटलको पनि नाफा घटेको भने अन्य सबै कम्पनीहरु नाफामा रहेका छन् ।
पछिल्लो समय पर्यटन आवागमनमा वृद्धि भएसँगै होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२४ को जनवरी देखिनै पर्यटन आवागन उच्च छ ।
नेपालमा विदेशी पर्यटकको संख्या बढ्दा यसको प्रत्यक्ष प्रभाव होटल व्यवसायमा देखिएको छ । विदेशी पर्यटकहरुको बढ्दो आगमनले होटलहरुको नाफामा सुधार देखिएको हो ।
सञ्चालित कम्पनीहरुमा चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालन बापत सेवा शुल्क हो भने सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापारमा होटल व्यवसाय रहेको छ ।
बाह्य पर्यटक संख्या बढ्दा आम्दानीमा सकारात्मक टेवा पुग्न गई नाफामा सुधार भएको होटलहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
सोल्टी होटल
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सोल्टी होटलले १२ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १८.३४ प्रतिशतले बढी हो । गत वर्ष होटलले १० करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
असोज मसान्तसम्म होटलको कुल आम्दानी २८.६९ प्रतिशतले बढेको छ भने कुल खर्च २९.३३ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी १.३० रुपैयाँमा झरेको छ ।
ओरियन्टल होटल
दि ओरियन्टल होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैंमाससम्म तीन २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९७.४८ प्रतिशतले कम हो । गत वर्ष होटलले एक करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको वित्तीय खर्च बढेका कारण नाफा घटेको हो ।
असोज मसान्तसम्म होटलको कुल आम्दानी ४.०२ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ६८.७२ प्रतिशतले घटेको छ । कुल खर्च ५.३४ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी ०.०३ रुपैयाँ रहेको छ ।
तारागाउँ रिजेन्सी होटल
तारागाउँ रिजेन्सी होटल लिमिटेडले यस अवधिमा चार करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३.५२ प्रतिशतले बढी हो । गत वर्ष होटलले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । समिक्षा अवधिमा होटलको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।
असोज मसान्तसम्म होटलको सञ्चालन आम्दानी १८.५० प्रतिशतले बढेको छ । सञ्चालन खर्च २८.९३ प्रतिशतले बढेको छ । होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३३ पैसा रहेको छ ।

सिटी होटल्स
सिटी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैंमाससम्म ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको सोही अवधिमा ७ करोड ७७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
गत आवको सोही अवधिको तुलनामा भने होटलको नोक्सानी घटेको हो । यस अवधिमा होटलको वित्तीय खर्च घटेका कारण नोक्सानी घटेको हो ।
असोज मसान्तसम्म होटलको सञ्चालन आम्दानी ४.८५ प्रतिशतले घटेको छ । कुल खर्च ७.०६ प्रतिशतले बढेको छ भने वित्तीय खर्च १५.२७ प्रतिशतले घटेको छ । होटलको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा ऋणात्मक छ ।
कालिन्चोक दर्शन
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कालिन्चोक दर्शनले ८५ लाख ७० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ९८ लाख ८७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीको वित्तीय खर्च घट्दा नोक्सानी पनि घटेको हो ।
असोज मसान्तसम्म होटलको आम्दानी २.१० प्रतिशतले घटेको छ । सञ्चालन आम्दानी १०.३८ प्रतिशतले घटेको छ भने वित्तीय खर्च ५२.०८ प्रतिशतले घटेको छ । होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४४ पैसा रहेको छ ।
चन्द्रागिरी हिल्स
चन्द्रागिरी हिल्स लिमिटेडले तीन महिनामा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.४५ प्रतिशतले बढि हो । गत आवमा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशतले घटेको छ । कुल आम्दानी ५.६९ प्रतिशतले घटेको छ भने कुल खर्च ४.०६ प्रतिशतले घटेको छ । होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा रहेको छ ।
Advertisment