वैदेशिक लगानी पर्यटन क्षेत्रमा केन्द्रित, चार महिनामा करिब २० अर्ब प्रस्ताव 

वैदेशिक लगानी पर्यटन क्षेत्रमा केन्द्रित, चार महिनामा करिब २० अर्ब प्रस्ताव 

काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा करिब २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ ।  उद्योग विभागको तथ्यांक अनुसार कात्तिक मसान्तस्म्म १९ अर्ब ८० करोड १२ लाख २९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुट, कागजी प्रक्रिया र शेयर खरिद तथा सदस्यता सम्झौतामार्फत २८८ उद्योगका लागि सो रकम बराबरको  लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत १०९ परियोजनाका लागि एक अर्ब ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 

त्यस्तै कात्तिकसम्ममा १७ अर्ब ३ करोड ७७ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रस्ताव आएको छ । १५४ परियोजनामार्फत सो लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा एसपीए तथा एसएसएका लागि २५ वटा परियोजना मार्फत १ अर्ब १३ करोड ६१ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग १५१ वटा रहेका छन् भने ठूला उद्योग दुई वटा र मझौला उद्योग एक रहेका छन् । प्रस्तावित उद्योगबाट ७ हजार ६६७ जानले रोजगारी पाउने भएका छन् । 

विभाग अनुसार कात्तिक मसान्तसम्म सूचना प्रविधि क्षेत्रका सात वटा, निर्माण क्षेत्रका १३ वटा, सेवामुलक क्षेत्रका २०, पर्यटन क्षेत्र ११३ उद्योग दर्ता भएका छन् । त्यस्तै यस अवधिमा कृषि र खनिज क्षेत्रका दुई वटा उद्योग दर्ता भएका छन् भने पूर्वाधार र जलविद्युत क्षेत्रमा लगानी शुन्य रहेको छ ।

प्रस्तावित उद्योगमध्ये पर्यटन क्षेत्र सर्वाधिक लगानी प्रस्ताव आएको छ । यस अवधिमा पर्यटन क्षेत्रका ११३ वटा परियोजनामा ११ अर्ब १८ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । 

यस्तै, सेवामुलक क्षेत्रका२० परियोजनामा तीन अर्ब ८५ करोड, आईटीका सात परियोजनामा १७ करोड ४० लाख, उत्पादनका १३ परियोजनामा एक अर्ब २२ करोड, कृषिका दुई परियोजनामा ५८ करोड र खनिजसम्वन्धी दुई परियोजनामा चार करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।

त्यस्तै नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश पनि घटेको छ । यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत ६ करोड ४० लाख ४२ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । 

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ९५.४६ प्रतिशत अर्थात एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँले कम हो । गत वर्षको सोही अवधिमा नाफ जापत लगानीकर्ताहरुले एक अर्ब ४१ करोड ६ लाख ८८ हजार रुपैयाँ लगेका थिए । 

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ, आठ लाख १५ हजार अमेरिकी डलर, भारुमा २० करोड ५ लाख र युरोमा १० हजार २०० रुपैयाँ थप रोयल्टी लगेको विभागको तथ्यांकमा उल्लेख छ ।
 

थप समाचार