Below Menu
Below Menu

करिब पाँच अर्बले घट्यो सार्वजनिक ऋण, एक खर्ब आठ अर्ब भुक्तानी 

करिब पाँच अर्बले घट्यो सार्वजनिक ऋण,  एक खर्ब आठ अर्ब भुक्तानी 

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ८३ अर्ब ९५ करोड सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म बढेर २५ खर्ब १८ अर्ब ५ करोड बराबर पुगेको छ । 

हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव १४ प्रतिशत बराबर हो । असोज मसान्तसम्मको तुलनामा विनिमय दरमा भएको परिवर्तनले ४ अर्ब ९८ करोड सार्वजनिक ऋण घटेको छ ।

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा कात्तिक मसान्तसम्ममा बढेर १२ खर्ब ५२ अर्ब १६ करोड पुगेको छ ।

जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ९५ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले एक खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउँदा ७२ अर्ब ७४ करोड बराबर ऋण तिरेको छ ।

त्यस्तै, कात्तिक मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ६५ अर्ब ८९ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो ।

कात्तिक मसान्तस्म्म सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा २१ अर्ब ७१ करोड खर्च गरेको छ भने यहि अवधिमा १३ अर्ब ५७ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव १९ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा कात्तिक मसान्तसम्ममा एक खर्ब ६५ अर्ब ७२ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ३० दशमलव ३० प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । कात्तिक मसान्तसम्ममा एक खर्ब आठ अर्ब १४ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।

यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा २६ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा कात्तिक मसान्तसम्मको कुल ऋण सेवा खर्च एक दशमलव ९० प्रतिशत बराबर हो ।

Advertisment