काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चार महिनामा १४ अर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म कम्पनीहरुले नौ लाख ९८ हजार ५९६ बीमालेख बिक्री गरी १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
उक्त रकम गत असोज मसान्तको तुलनामा ४७.३० प्रतिशत अर्थात दुई अर्ब ७८ करोड ५० लाख रुपैयाँले बढी हो । असोज मसान्तसम्म कम्पनीहरुले ७ लाख ३७ हजार ९३० बीमालेख बिक्री गरी ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको व्यापार गरेका थिए ।
प्राधिकरणका अनुसार कात्तिक मात्रै कम्पनीहरुले २ लाख ६० हजार ६६५ बीमालेख बिक्री गरी दुई अर्ब ७८ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
अर्ब क्लबमा छ कम्पनी
प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म छ कम्पनीहरुले एक अर्बमाथिको व्यापार गरेका छन् । सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ९१ हजार ७७३ बीमालेख बिक्री गरी एक अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
त्यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले कात्तिकसम्म ९९ हजार ४२४ बीमालेख बिक्री गरी एक अर्ब ४६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले एक अर्ब ४१ करोड तीन लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यसैगरी कात्तिक मसान्तसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक् अर्ब १४ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले एक अर्ब १५ करोड २७ लाख र आईजीआई प्रुडेसिन्यलले एक अर्ब १३ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
अन्य कम्पनीको व्यापार
चालु आवको चार महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले ७८ करोड ६८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ६१ करोड ४९ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । त्यसैगरी यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ४९ करोड ३ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्दा प्रभु इन्स्योरेन्सले ६२ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, यस अवधिमा एनएलजीले ९४ करोड १९ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्म सानिमा जिआईसीले ७७ करोड ९३ लाख र युनाइडेड अजोड इन्स्योरेन्सले ८४ करोड एक लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
लघु बीमाको व्यापार सवा २६ करोड
प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले सवा २६ करोडको व्यवसाय गरेका छन् । कम्पनीहरुले एक लाख एक हजार ३६१ हजार बीमालेख जारी गरी २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् ।
चालु आवको यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी ७ करोड ९० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख, स्टार माइक्रोले ५ करोड ८९ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५ करोड ९३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
Advertisment