Below Menu
Below Menu

एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो

एसिया र विश्वकप यो हातले उचाल्नु छः कप्तान महतो

यु–१९ नेपाली महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आसन्न एसियाकप र विश्वकप जित्नु अहिलेको अर्जुनदृष्टि भएको बताएकी छिन् । युएईमा सम्पन्न दुईवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको छनोट प्रतिस्पर्धा जितेर गृह जिल्ला महोत्तरी आएकी १८ वर्षीया पूजाले राष्ट्रिय समाचार समितिसँगको सङ्क्षिप्त कुराकानीमा मुलुक फर्कदा सबै क्षेत्रबाट पाएको सम्मानले हर्षविभोर बनाउनुका साथै थप दायित्व बोध बढाएको बताइन्।

पछिल्लो समय खेलप्रति आम रुपमा जागेको चासो र विश्वासले नेपाली खेल जगत्ले अबका दिनमा झनझन सफलताको सिँढी चढ्ने उनको विश्वास छ । प्रस्तुत छ, कप्तान महतोको महोत्तरीको गौशाला–९ डुमरवानास्थित घरमै क्रिकेटमा उनको लगाव र भविष्यका बारेमा राससले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंशः

युएईबाट छनोट प्रतिस्पर्धा जितेर फर्केदेखि तपाईंलाई सम्मान र पुरस्कार लिन भ्याइनभ्याइ परेको छ । यसमा कस्तो महसुस गर्नुभएको छ ?

युएईबाट छनोट प्रतिस्पर्धा जित्न सक्दा म निकै हर्षविभोर छु । छनोट प्रतिस्पर्धाको जितले नै यहाँ कति उत्साह दिएको रहेछ भन्ने त मप्रति दर्साइएको स्नेह र सम्मानले नै देखाएको छ । यहाँ आइपुग्नासाथ मधेस प्रदेश सरकार, स्थानीय तहहरु, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था , खेलकुद जगत र आम सर्वसाधारणबाट पाएको स्नेह र सम्मानले अबका दिनमा अझ राम्ररी अघि बढ्न हौसला र ऊर्जा दिएको छ । खेलप्रति र खासमा क्रिकेटप्रति बढेको यो चासोले अबका दिन खेलका लागि राम्रो समय आउला भन्ने आशा जागेको छ । 

तपाईं ग्रामीण परिवेशको सामान्य किसान परिवारमा जन्मनु भएकी महिला । क्रिकेटमा कसरी जोडिनु भयो ?

हो, तपाईंले भन्नु भएजस्तै म ग्रामीण परिवेशको सामान्य किसान परिवारमै जन्मिएकी हुँ । यहाँको खेतीपातीले घर धान्न धौधौ परेपछि मेरा पिता रञ्जित महतो परिवारसहित कामको खोजीमा भारतको दिल्ली पुगे । हामी तीन दिदीबहिनी र एउटा भाइ त्यहीं (दिल्ली) बस्न थाल्यौँ । मेरी कान्छी बहिनी आरती र भाइ कृष्ण दिल्लीकै एकेडेमीमा क्रिकेट सिक्थे । म उनीहरुलाई पुर्याउन जान्थे । त्यहींँ प्रशिक्षकले खै ममा के देख्नु भएर हो, मलाई पनि खेलाउन थाले । मैले चार वर्षदेखि  खेलको अभ्यास थालेकी हुँ ।

केही समयपछि भाइ एउटा खेलमा सहभागी हुन नेपाल आए । उनको नेपाल क्रिकेट सङ्घ ९क्यान० का उपाध्यक्ष रोशनकुमार सिंहसँग भेट भएछ । भेटमा भाइले ‘मेरी दिदी पूजा पनि राम्रो खेल्नुहुन्छ, उहाँलाई टिममा राख्नु न’ भनेछन् । भाइ दिल्ली फर्केर मेरो खेलका तस्बिर र भिडियोहरु उपाध्यक्ष सिंहलाई पठाउँदा रहेछन् ।

मेरो खेल भिडियो र तस्बिरमा हेर्नु भएका उपाध्यक्ष सिंहले मलाई नेपाल झिकाएर खेलाउने निर्णय लिएर मेरा पिताजीसँग समन्वय गर्नु भएअनुसार म काठमाडौ पुगेँ । उपाध्यक्ष सिंहको पितृवत् कुशल अभिभावकत्व पाएँ । उहाँकै निर्देशन पालना गर्दै अघि बढ्दै जाँदा  जिल्ला, प्रदेश हुँदै अहिले देशकै यू–१९ नेपाली महिला क्रिकेट टोलीको कप्तान बन्न सकेको छु । जे उपलब्धि देखिएको छ, पाइएको छ, त्यो क्यान र हाम्रो टोलीको साझा मेहनतको प्रतिफल हो । 

अब के योजनामा हुनुहुन्छ ?

ल, यो पनि भन्नु पर्छ र १ अब केही सातामै ९नोभेम्बर मध्यमा०मलेसियामा एसियाकप प्रतियोगिता हुँदैछ । लगत्तै एक महिनापछि डिसेम्बरमा विश्वकप हुँदैछ । अब अहिलेको सपना भन्नुस्, ध्येय वा लक्ष्य भन्नोस्, यी दुवै प्रतियोगितामा सफलता हात पार्नु हो । मलेसियामा आयोजना हुने यी दुवै प्रतियोगिता जित्नु अहिले हाम्रो टोलीको एकमात्र अर्जुनदृष्टि हो । 

अन्त्यमा केही भन्नुहुन्छ कि ?

हजुर, मधेसमा प्रदेश सरकारले केही वर्षअघिदेखि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको छ । अब ‘बेटी खेलाउ’ पनि भन्न पर्यो भन्ने मेरो आग्रह छ । खेलले किशोर र युवा उमेरका हाम्रा दिदीबहिनीको शारीरिक सुगठन मजबुत हुनुको साथै घरबाहिरका गतिविधिमा सक्रियता बढाउँछ । अनुशासन सिकाउँछ । मनभित्रको दुर्वलता हटाउँछ । यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि अहिले जारी छ । खेलमा बढीभन्दा बढी महिला सहभागिताले लैङ्गिक विभेदविरुद्धको अभियानलाई पनि सघाउँछ भन्ने मेरो विश्वास छ ।

Advertisment

थप समाचार