काठमाडौं : चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाले झण्डै २५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले २४ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३६ करोड रुपैयाँले बढी हो । गत वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको नाफा २२ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार युस अवधिमा वाणिज्य बैंकहरुको नाफा २२ अर्ब २९ करोड, विकास बैंकहरुको नाफा दुई अर्ब तीन करोड र फाइनान्सहरुको नाफा ६५ करोड रुपैयाँ रहेको छ ।
साढे एक अर्बले बढ्यो वाणिज्य बैंकको नाफा
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्म २२ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५६ करोड ७ लाख रुपैयाँले बढी हो । गत वर्षको कात्तिक मसान्तसम्म बैंकहरुले २० अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । कात्तिक मसान्तसम्म बैंकले दुई अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको हो ।
एघार बैंकको नाफा अर्बमाथि
सार्वजनिक तथ्यांक अनुसार चालु आवको कात्तिक मसान्तसम्म नबिलसहित दश बैंकले एक अर्ब भन्दाबढी नाफा कमाएका छन् ।
ग्लोेबल आईएमईले चालु आवको कात्तिक मसान्तसम्म दुई अर्ब ११ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ८२ करोड ९ लाख, कुमारीले एक अर्ब ५९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै प्राइम कमर्सियलले एक अर्ब ६२ करोड ६४ लाख, एनएमबि बैंकले एक अर्ब ४८ करोड ३२ लाख, प्रभु बैंकले एक अर्ब २३ करोड १० लाख, स्ट्याण्डर्ड चार्टडले एक अर्ब १३ करोड ७३ लाख र नेपाल एसबिआईले एक अर्ब ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै यस अवधिमा एभरेष्ट बैंकले यस अवधिमा एक अर्ब ५० करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ भने लक्ष्मी सनराइजले एक अर्ब ६९ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ ।
अर्ब क्लबमा पुगेनन् नौं बैंक
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म आइपुग्दा १० बैंकहरुको नाफा एक अर्ब भन्दा माथि रहेको छ भने अन्य बैंकहरुको नाफा करोडमा खुम्चिएको छ । सरकारी बैंक कृषि विकास बैंकका नाफा ऋणात्मक रहेको छ ।
यस अवधिमा नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ, एनआईसी एशियाले ३८ करोड ८१ लाख नाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख, सिटिजन इन्टरनेशनल बैंकले ४३ करोड ८६ लाख, हिमालयन बैंकले ९१ करोड ८८ लाख र सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ ।
कात्तिक मसान्तसम्म आइपुग्दा कृषि विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ । यस अवधिमा बैंकको नाफा २२ करोड ७७ लाख रुपैयाँ नाफा ऋणात्मक रहेको हो ।
Advertisment