काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोटलर्स नेपाल (बालाजु) को शेयर कारोबार रोक्का गरेको छ । लाभांशसम्बन्धी सञ्चालक समितिको बैठकले लाभांशसम्बन्धि सुचना करिब १ महिना लुकाएको भन्दै कम्पनीको शेयर सूचीकरण स्थगन गरी ३ दिने स्पष्टीकरण सोधेको हो ।
कम्पनीको गत मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी झण्डै १ महिनापछि मात्र नेप्सेलाई दिएको छ । लाभांश सम्बन्धीको निर्णयको लिखित जानकारी नेप्सेलाई पुस २ गते मात्र पठाएको नेप्सेले जनाएको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
सो व्यवस्था पालना नगरेका कारण उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप नेप्सेले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन सहित कम्पनीको शेयर कारोबार रोक्का गरेको हो।

Advertisment