Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार करिब चार अर्बले बढ्यो, पाँच महिनामा उठाए साढे ६५ अर्ब 

जीवन बीमा कम्पनीको व्यापार करिब चार अर्बले बढ्यो, पाँच महिनामा उठाए साढे ६५ अर्ब 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उलेख्य सुधार देखिएको छ  चालु आर्थिक वर्षको चार महिनामा कम्पनीहरुले साढे ६५ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कम्पनीहरुले ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड ३३ लाख ४२ हजार २४६ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

उक्त रकम गत आवको सोही अवधिको तुलनामा ६.४९ प्रतिशत अर्थात ३ अर्ब ९९ करोड ४७ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले एक करोड ३७ लाख ५४ हजार ४८३ बीमालेख बिक्री गरी ६१ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।

गत कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तसम्म १२ अर्ब ३४ करोड ८६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । गत कात्तिकमा मात्र कम्पनीहरुले ३ लाख ७७ हजार ९२८ बीमा लेख जारी उक्त रकम बराबरको बीमाशुल्क कमाएका छन् । 

यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म कम्पनीले १७ लाख २३ हजार ३३९ बीमालेख बिक्री गरी १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

प्राधिकरणका अनुसार यस अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीले ५ लाख १० हजार ११ बीमालेख जारी गरी एक अर्ब २५ करोड ८१ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

त्यस्तै नेशनल लाइफले ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँको व्यापार गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ७ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

यसैगरी मंसिर मसान्तसम्म मेट लाइफले दुई अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै एशियन लाइफले तीन अर्ब ३६ करोड चार लाख, आईएमई लाइफले एक अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा आइपुग्दा सन नेपाल लाइफले एक अर्ब ५७ करोड ५६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने रिलायबल नेपाल लाइफले एक अर्ब ९२ करोड १५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले दुई अर्ब ६५ करोड ५४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै सूर्यज्योति लाइफले तीन अर्ब ९९ करोडको ६८ लाख र सानिमा रिलायन्स लाइफले दुई अर्ब ५९ करोड ७५ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।

प्राधिकरणका अनुसार चालु आवको मंसिर मसान्तसम्म हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने प्रभु महालक्ष्मी लाइफले एक अर्ब ९४ करोड २५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार ४० करोडमाथि

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । मंसिर मसान्तसम्म कम्पनीहरुले चार लाख ९६ हजार ६३१ बीमालेख जारी गरी ४० करोड ३४ लाख ८४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले १५ करोड ५७ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले १४ करोड ७८ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ९ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार