Below Menu
Below Menu

एक महिनामै २१ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरुको व्यापार ! 

एक महिनामै २१ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीहरुको व्यापार ! 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले एक महिनामैं २१ प्रतिशतले व्यवसाय बढाएका छन् । चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिरमा कम्पनीहरुको व्यापार २१.८५ प्रतिशतले बढेको हो । 

नेपाल बीम प्राधिकरणका अनुसार चालु आवको मंसिर मसान्तसम्म कम्पनीहरुले ११ लाख ३८७ हजार २७१ बीमालेख जारी गरी १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

उक्त रकम गत कात्तिक मसान्तस्म्मको तुलनामा ३ अर्ब ८ करोड ५ लाख रुपैयाँले बढी हो । गत कात्तिक मसान्त्सम्म कम्पनीहरुले ८ लाख ९७ हजार २३५ बीमालेख जारी गरी १४ अर्ब ९ करोड ७२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । 

प्राधिकरणका अनुसार मंसिरमा मात्रै कम्पनीहरुले २ लाख ४० हजार ३४१ बीमालेख बिक्री गरी तीन अर्ब आठ करोड पाँच लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

नौं कम्पनी अर्ब क्लबमा

प्राधिकरणका अनुसार मंसिर मसान्तसम्म नौं कम्पनीहरुले एक अर्बमाथिको व्यापार गरेका छन् । सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा एक लाख १५ हजार ३२८ बीमालेख बिक्री गरी दुई अर्ब १९ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

त्यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले मंसिरसम्म एक लाख २५ हजार १५५ बीमालेख बिक्री गरी एक अर्ब ७६ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्सले एक अर्ब ७४ करोड २५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यसैगरी मंसिर मसान्तसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब ४० करोड ९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले एक अर्ब ४० करोड ३८ लाख र आईजीआई प्रुडेसिन्यलले एक अर्ब ४५ करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । यस अवधिमा एनएलजीले एक अर्ब १३ करोड ६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ भने र युनाइडेड अजोड इन्स्योरेन्सले एक अर्ब २ करोड ५५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

खुम्चिए चार कम्पनी 

चालु आवको पाँच महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले ९४ करोड ४६ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, त्यसैगरी यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

प्राधिकरणका अनुसार मंसिर मसान्त्सम्म प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा सानिमा जिआईसीले ९९ करोड ७४ लाख रुपैयाँको व्यापार गरेको छ ।

लघु बीमाको व्यापार साढे ३८ कराेड

प्राधिकरणका अनुसार यस अवधिमा सञ्चालनमा रहेका चार लघुबीमा कम्पनीले साढे ३८ करोडको व्यवसाय गरेका छन् । कम्पनीहरुले एक लाख ३३ हजार ३८५ हजार बीमालेख जारी गरी ३८ करोड ८८ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क उठाएका हुन् । 

चालु आवको यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी १० करोड १२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ८ करोड ३१ लाख, स्टार माइक्रोले ७ करोड ७२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ७ करोड ७१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

Advertisment

थप समाचार