Below Menu
Below Menu

साढे ८३ अर्ब पुग्यो बीमा व्यवसायको आकार, खुम्चिदै पहुँच विस्तार 

साढे ८३ अर्ब पुग्यो बीमा व्यवसायको आकार, खुम्चिदै पहुँच विस्तार 

काठमाडौं : पछिल्लो समय बजारमा बीमा व्यवसायको वृद्धिर देखिएपनि पहुँच विस्तारमा भने संकुचन देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको देखिएको हो ।

मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको छ ।

गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४३.०९ प्रतिशतमा पुगेको थियो । तर, चालु आवको मंसिर मसान्तसम्मको तथ्यांक हेर्दा यो संख्या ४२.०२ प्रतिशतमा सिमित भएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको जीवन बीमालेख संख्या ०.४३ प्रतिशतले बढेर ५५ लाख १३ हजार ३४० पुगेको छ । त्यस्तै, म्यादि र लघुम्यादि जीवन बीमालेख संख्या ५.४२ प्रतिशतले घटेर ६० लाख १४ हजार १४७ रहेको छ ।

त्यस्तै, यस अवधिमा म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १६.९९ प्रतिशत रहेको छ भने म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३५.५२ प्रतिशत रहेको छ ।

यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा भने वृद्धि भएको छ । गत आवको मंसिर मसान्तसम्म १८ लाख ६६ हजार ७१७ वैदेशिक रोजगार बीमालेख संख्या रहेको यस अवधिमा २३.८२ प्रतिशतले बढेर २३ लाख ११ हजार ३९० मा पुगेको छ ।

बीमा कम्पनीहरुले व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगे पनि बीमाको पहुँच विस्तार भने निरन्तर खुम्चिदै गएको हो ।

त्यसो त बीमाको दायरा विस्तारका लागि प्राधिकरणले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । स्थानीय तहहरुको समन्वयमा बीमा क्षेत्रका बारेमा अन्तक्र्रिया कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । तर, बीमा दायरा विस्तारमा भने उल्लेख्य वृद्धि हुन सकेको छैन ।

पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीका कारण बीमा क्षेत्रमा पनि असर परेको बीमा विज्ञ बताउँछन् । मुलुकमा देखिएको आर्थिक संकट, बजारको महंगी र बैंकको बढ्दो ब्याजदरका कारण बीमा क्षेत्रलाई प्राथमिकतामा नराखेको उनीहरुको भनाई छ । 

बजारमा आर्थिक गतिविधि चलायमान नहुँदा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या बढ्दै जाँदा बीमाको पहुँच विस्तारमा प्रत्यक्ष असर परेको छ । एकातिर बीमा गर्ने व्यक्तिहरुको संख्खामा संकुचन आएको छ भने अर्कोतर्फ बीमालेख खरिद गरेका बीमितहरुले पनि प्रिमियम तिर्न नक्सदा बीमा नविकरण हुन सकेको छैन ।

व्यापार वृद्धिको रफ्तार

बीमा क्षेत्रको दायरा साघुँरिएपनि बीमा कम्पनीहरुको व्यवसायमा भने वृद्धि भएको छ । पछिल्लो एक वर्षको अवधिमा कम्पनीहरुको समग्र बीमा व्यवसायको आकार करिब ८ प्रतिशतले बढेको छ ।

प्राधिकरणका अनुसार चालु आवको मंसिर मसान्तसम्म बीमा कम्पनीहरुले कुल ८३ अर्ब ६६ करोड १९ लाख रुपैयाँ बीमाशुल्क शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ७.९४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरुले ७७ अर्ब ५० करोड ६९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए ।

गत वर्षको मंसिर मसान्तसम्म १५ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आवको सोही अवधिमा आइपुग्दा ११.२२ प्रतिशतले बढेर १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँमा पुगेको छ ।

यता जीवन बीमा कम्पनीहरुको व्यवसायमा पनि सामान्य वृद्धि देखिएको छ । मंसिर मसान्तसम्म ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ७.१० प्रतिशतले बढेको हो । गत वर्षको मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको थियो ।

चालु आवको मंसिर मसान्तसम्ममा कुल जीवन बीमालेख संख्या ०.५५ प्रतिशतले बढेर एक करोड ३८ लाख ३८ हजार ८७७ पुगेको छ भने निर्जीवन बीमालेख संख्या ८.४ प्रतिशतले बढेर १२ लाख ७० हजार ६५७ पुगेको छ । 

त्यस्तै गत आवको सोही अवधिमा १० अर्ब ९८ करोड ४१ लाख रुपैयाँ रहेको प्रथम जीवन बीमाुशल्क २८.०२ प्रतिशतले बढेर १४ अर्ब ६ करोड २० लाखमा सिमित भएको छ । नविकरण जीवन बीमाशुल्कमा भने २.५८ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

थपिए कार्यालय र कर्मचारी 

प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुको कार्यालय र कर्मचारीको संख्या पनि बढ्दै गएको छ । यस अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ०.३३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ११.७४ प्रतिशतले बढेको छ ।

गत आवको मंसिर मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार ८६३ रहेको थियो भने चालु आवको यस अवधिमा आइपुग्दा यस्तो संख्या बढेर २ हजार ९९१ पुगेको छ ।

गत वर्षको मंसिर मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बीमा कम्पनीहरुका कर्मचारी ३.२३ प्रतिशतले बढेका छन् । गत आवको सोही अवधिमा ११ हजार ४४८ कर्मचारी रहेका बीमा कम्पनीहरुमा यस अवधिमा आइपुग्दा बढेर ११ हजार ८१८ जना रहेका छन् ।

मंसिर मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको कर्मचारी १.३३ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी ५.१९ प्रतिशतले बढेको  प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
 

Advertisment

थप समाचार