काठमाडौं : समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । बैंकले एक सूचना जारी गर्दै बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्न थालेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेस गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले पुस १७ गतेदेखि नै निक्षेप फिर्ता गर्न थालिएको हो ।
बैंकले तोकिएको शाखाहरुबाट बिहान ११ बजेदेखि भुक्तानी सुरु गरेको छ । पुस १७ गते बुधबार विभिन्न १६ शाखाबाट निक्षेप फिर्ता गरेको बैंकले पुस १८ गते बिहीबार १९ शाखाबाट रकम फिर्ता गर्ने जनाएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकलेतोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको र आर्थिक हिनामिनाको आशंका भएको भन्दै कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको भन्दै राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।
राष्ट्र बैंकले उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह पठाएको छ। समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप(निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा सदस्य रहेका छन् ।

Advertisment