काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुप्रति तीब्र असन्तुष्टि पोखेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजना गरिएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादन र रोजगारी सिर्जनामा लगानी नै नगरेको आरोप लगाए ।
उनले भने, ‘सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच छ । तर, पहुँच अनुसारको परिणाम देखिएन । सम्भावना भएको क्षेत्रमा वित्तीय क्षेत्रले खोजी गर्न सकेन । डाटामा मात्र रमाएर हुँदैन ।’
संघीयता कार्यान्वयनमा आएपछि सबै तहमा आयोजना जान्छन् । यी आयोजनाहरुको भुक्तानी गर्नुपर्छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको कर्मचारीका भत्ता दिनुपर्छ भन्ने तर्फ बैंकहरुले ध्यान दिएनन् । सम्भावनालाई छोडेर अन्तै तिर बरालिएको उनको भनाई छ ।
सम्भावनाका क्षेत्रमा बैंकहरुले लगानी बढाउन नसकेको बताउँदै उनले भने, ‘हाम्रो सम्भावना जल, जमिन, खानी, उद्योग हुन् । कृषिमा उत्पादन भनिरहेका छौं । बैंकहरुको लगानी कति छ ?उद्योगीहरु वित्तीय क्षेत्रसँग त्रसित छन् । उच्च ब्याजदरबाट प्रताडित भएका व्यवसायीहरु वित्तीय क्षेत्रबाट तर्सिरहेका छन् ।’
बैंकहरुले प्राप्त पूँजीलाई उत्पादन र रोजगारी सिर्जनामा विस्तार गर्न नसकेको उनले बताए । ‘कृषि, उद्योग, ग्रामीण अर्थतन्त्र सुधारमा बैंकहरुले कहाँ कहाँ लगानी गरे ? कसले लाभ लियो ? यो आजको गम्भीर प्रश्न हो । सरकारले कहाँबाट बाजा बजाउँछ र आफूहरू नाफा कमाउँ भन्नेमा निजी र वित्तीय क्षेत्र छन्’, उनले भने ।
लगानीको समस्या र ब्याजदरलाई देखाएर बैंकहरु जिम्मेवारीबाट भाग्न नमिल्ने मन्त्री भण्डारीले बताए । ‘तपाईहरुनै बैंकर्स फेरि तपाईंहरुनै व्यवसायी । जता फाइदा हुन्छ उतै । यसैले तपाईं आफैंले गुनासो गरेको सुहाएन’, भण्डारीले भने ।
बैंकहरुले ग्रामीण कृषि र साना उद्यमको क्षेत्रमा लगानी गर्दै नगरेको भन्दै त्यसतर्फ ध्यान दिन मन्त्रीले आग्रह गरे । ब्याजदर सस्तो हुँदा पनि व्यवसायी र साना किसानहरुले कर्जा पाउन नसकेको र पाएपनि बढी ब्याज तिरिरहनुपरेको उनको भनाई छ ।
बैंकहरूले लगानी बढाउन नसक्नुको कारण बैंकरहरूले स्पष्ट पार्नुपर्ने बताउँदै उनले भने, ‘बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । बैंकहरूले लगानी गर्न किन सकिरहेका छैनन् ? कि सरकारले लिइरहेकै छ, किन जोखिम लिनुपर्याे भनेर लगानी नगरिएको हो ?’
क्षमता भएकाहरूलाई बैंकले ऋण नदिएकोमा आपत्ति जनाउँदै उनले थपे, ‘ घरजग्गामा मात्रै ऋण दिने गरिएको क्षमता भएका र लगानी गर्छु भन्नेहरुले ऋण लिन पाएका छैनन् । जनता दुब्लाइरहेने तर बैंकहरु मोटाउने यसो हुन सक्दैन । हिजो चर्को ब्याज लिएर उठाएको पैसा कहाँ छ ? सो पुँजी लगानी गर्न पर्यो ।’
सरकारले आर्थिक विकास र आम सर्वसाधारणको जनजीवन परिवर्तन गर्ने गरि आर्थिक विकासमा लागि रहेको बताउँदै उनले वित्तीय क्षेत्रबाट राष्ट्रिय पुँजी निर्माण गर्न सहयोग गर्न बैंकहरुलाई आग्रह गरे ।
अर्थतन्त्रमा आएको शिथिलतालाई यसको कारणको खोजी गरेर यसलाई सुधार गर्न आवश्यक रहेको उनको भनाई । सरकार आफैभित्र संरचना र नीतिगत सुधार आवश्यक रहे उनले बताए ।
‘एकले अर्कोलाई दोष दिएर पन्छिरहेको अवस्था छ । हामीले आम चुनौतीहरुलाई समेट्न सकेनौं । वित्तीय संस्थाको सुधारले सबै क्षेत्रको सुधार हुन्छ । हामीले बनाएका नीतिहरु नै हाम्रा लागि बोझिला बन्दै गएका छन् । यसलाई सुधार गरेर जानुपर्छ ।’
Advertisment