काठमाडौं : बैंक तथा वित्तीय संस्थाले एकैदिन ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी बढ्न थालेको देखिएको हो ।
बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडी रेसियो पनि बढ्न थालेको छ । केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको हो ।
राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६६ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । पुस १६ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५९ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४७ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ११ रुपैयाँ लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.०१ प्रतिशत रहेको छ ।
Advertisment