Below Menu
Below Menu

उपल्लो मुस्ताङमा १४ प्रतिशतले बढे पर्यटक, एक वर्षमा भित्रिए साढे चार हजार ६१ जना  

उपल्लो मुस्ताङमा १४ प्रतिशतले बढे पर्यटक, एक वर्षमा भित्रिए साढे चार हजार ६१ जना  

म्याग्दी : सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को लोमान्थाङ कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिए ।

उनका अनुसार सडक सञ्जाल विस्तार, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटल सञ्चालन, अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरुलगायत कारणले यहाँ पर्यटक आगमन बढेको हो ।

सन् २०२२ मा तीन हजार एक सय १२, सन् २०२१ मा तीन सय ३२, सन् २०२० मा ६२ र सन् २०१९ मा तीन हजार नौ सय १८ विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेका एक्याप कार्यालयले जनाएको छ । सन् २०१७ मा हालसम्मकै बढी चार हजार एक सय १५ विदेशी नागरिक यहाँ पुगेका कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङका आकर्षण हुन् । बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूको साझा तीर्थस्थल दामोदरकुण्ड पनि उपल्लो मुस्ताङमा अवस्थित छ । 

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को साविक छुसाङ गाउँ विकास समिति र वारागुङ मुक्तिक्षेत्र–५ को साङ्तालाई सुरक्षा संवेदनशिलताका कारण सरकारले निषेधित क्षेत्र तोकेको छ । मनाङ र गोरखाका केही भूगोल पनि निषेधित क्षेत्रमा समेटिएका छन् ।

उपल्लो मुस्ताङ भ्रमण गर्न नेपाली बाहेकले अध्यागमन विभागलाई पाँच सय अमेरिकी डलर शुल्क तिरेर १० दिनका लागि विशेष किसिमको अनुमति लिनुपर्ने नियम छ । दश दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन थप ५० डलरका दरले शुल्क तिर्नुपर्ने एक्यापका प्रमुख पौडेलले जानकारी दिए ।

लोमान्थाङ गाउँपालिका–१ मा पर्ने नेचुङ भन्दा माथि पर्यटकलाई जान रोक लगाइएको छ । सरकारले सन् १९९२ देखि उपल्लो मुस्ताङलाई विदेशी नागरिकलाई अनुमतिसहित निर्धारित शुल्क तिरेर निश्चित समयसम्म घुम्न पाउने व्यवस्था मिलाएको थियो ।

निषेधित क्षेत्रमा बढी शुल्क तिर्नुपर्ने हुँदा पर्यटक आगमन बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्वु गुरुङले बताए । निषेधित क्षेत्रमा शुल्कमा केही छुटको व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिरहेको भन्दै पर्यटकको आगमन बढे स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने उनले उल्लेख गरे । 

Advertisment

थप समाचार